इटहरीः १५ औँ गणतन्त्र दिवसको अवसरमा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले देश तथा विदेशमा बसेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

‘ नेपाली जनताको ऐतिहासिक जित भएको विशेष दिनका रूपमा आज १५ औँ गणतन्त्र दिवस मनाइरहँदा म देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्री राईद्धारा जारी गरिएको शुभकामना सन्देशमा उल्लेख गरेका गरिएको छ ।

तत्कालीन समयमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको ‘गणतन्त्र’ जनताको बलिदानी पूर्ण सङ्घर्षको प्रतिफल भएको भन्दै मुख्यमन्त्री राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिनुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

लामो र ऐतिहासिक सङ्घर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै मुलुक गणतन्त्रसँगै सङ्घीय शासन प्रणालीमा रूपान्तरित भएको सन्देशमा भनेका छन् ।

भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको र नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । ‘ अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमत प्रति हार्दिक आभार प्रकट गर्दछु ।’ राईद्धारा जारी सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री राईले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

‘ गणतन्त्र दिवस २०७९ को अवसरमा संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्र हित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा थप उत्साह र प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा १५ औँ गणतन्त्र दिवसको पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’ सन्देशमा मुख्यमन्त्री राईल भनेका छन् ।