इटहरीः इटहरी उपमहानगरपालिकाका निर्वाचित पदाधिकारी र विपद व्यवस्थापनको शनिवार बसेको बैठकले वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने र सबै वडामा रहेका नाला पैनीको सफाईलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैंठकले नगरपालिकामा विपद व्यवस्थापनको लागि नगर स्तरीय सुचना केन्द्र समेत गठन गरेको छ ।
नगरको विपद् व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन हटलाईन इन्फरमेसन युनिट बनाउने र त्यसको संयोजकमा नगरपालिकाका सुचना अधिकारी ओसन चौधरी र विपद् व्यवस्थापन समितिको सदस्य सचिव पुष्पनारायण चौधरीलाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।
र्यापिड रेन्स्पोन्स टिमको सदस्यहरुमा स्वास्थ्य शाखाको प्रमुख, प्राविधिक शाखा क्लष्टरका प्रमुखहरु , सम्बन्धित वडा सचिवहरु र आन्तरिक तथा खरिद व्यवस्थापन शाखा रहेका छन् ।
सम्बन्धित वडा अध्यक्षहरु सल्लाहकाकार रहने सो टिमले वडामा रहेका पैनी, नाला सरसफाई गराउने पहिलो प्राथमिकता दिने र यसका लागि प्राविधिक लागत अनुमान तयार गरी एक हप्ता भित्र सम्बन्धित शाखामा पेश गर्ने र सरसफाई गराउने निर्णय समेत गरेको छ ।
बैंठकले वडा स्तरमा रहेका जोखिम घर परिवार र बस्तीलाई परिचान गरी तथ्यांक लिने र सम्बन्धित वडा विपद् व्यवस्थापन शाखामा अध्यावधिक गर्ने निर्णय पनि गरेको छ ।