इनरुवाः सुनसरीको कोशी गाउपालिका ७ नम्बर वडाबाट निर्वाचित देशकै पहिलो मुसहर जातीका वडाअध्यक्षले पदभार ग्रहण गरेपछि गर्भवती सुत्केरी महिलाका लागि स्वास्थ्य सामग्री दिने निर्णय गरेका छन् ।

कोशी गाउपालिका ७ नम्बर वडामा निर्वाचित वडाअध्यक्ष लालदेव सदा (मुसहरले) पदभार ग्रहण गर्ने क्रममा शुक्रवार हरिपुर स्वास्थ्य चौकीलाई गर्भवती सुत्केरी महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री दिने निर्णय गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनावमा भाग लिएका लालदेवले पदभार ग्रहण कार्यक्रम राखेको दिन आफनो कार्यकक्षमा प्रवेश गरेसगै वडामा निर्वाचित अन्य सदस्यहरु सहितको बैठकबाट वर्थिङ सेन्टरमा स्वास्थ्य सामग्री प्रदान गर्ने निर्णय गरेका हुन् ।

२५ वर्षे युवा लालदेव सदा ६ सय ११ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी निवर्तमान वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदबार रामचन्द्र महतो कोइरी ४ सय ४१ मत ल्याएर पराजित भएका थिए । निर्वाचन अधिकृतको कार्यालय कोशीले नवनिर्वाचित वडाध्यक्ष सदा १ सय ७० मतान्तरले निर्वाचित भएको जनाएको छ ।

उनीसगै नेकपा माओवादी केन्द्रबाट वडा सदस्य पदमा खुला सदस्यमा विजय मुसहर सदा र कुमार मुखियाले ५९२ र ५६७ मत, महिला सदस्यमा किसनी भुजेलले ६११ मत र दलित महिला सदस्यमा बुलन्तीदेवी सदाले ६१४ मत ल्याएर निर्वाचित भएका थिए ।

लालदेव सदा मुसहर समुदायबाट निर्वाचित हुने प्रदेशको पहिलो र देशकै दोस्रो वडाध्यक्ष हुन् । यसअघि मधेस प्रदेशमा मुसहर समुदायबाट एक वडाध्यक्ष निर्वाचित भएका थिए । लालदेवले११ कक्षासम्म अध्ययन गरेका छन् ।

वडाध्यक्षमा निर्वाचित सदाले जनताले पैसा र रक्सीमा नबिक्ने र मुसहरले पनि नेतृत्व लिन सक्ने सन्देश दिएको बताए । उनले सधै पछि पारिएको समुदायलाई विश्वास गरेर वडाबासीले जिताएकोले यसलाई सदुपयोग गर्दै सम्पूर्ण वडाको विकाससहित पछाडि परेको मुसहर समुदायको उत्थानको लागि काम गर्ने प्रतिबद्धतासहित मतदानको लागि धन्यबाद दिए ।

सदाले आफू आर्थिक हिसावले कमजोर भएपनि जनताले विश्वास गरेर मतदान गरी अत्यधिक मतले निर्वाचित गराएकोमा समुदाय प्रति अभारी प्रकट गर्दै सदाले सबैको साथ, सहयोग अनि बिश्वास र मतको कदर गर्दै आगामी दिनमा विकसित वडाको रुपमा चिनाउने प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे।