इटहरीः इटहरी उपमहानगरपालिकाका नव निर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गर्दा नगर्दै बर्षा शुरु भएपछि बाढी नियन्त्रणको चुनौतीलाई समाधान गर्न चासो देखाएका छन् ।
पदभार ग्रहण गरेको ६ दिन पछि इटहरी मेयर पौडेल शनिबार स्थानीय पैनी निरिक्षणमा निस्किएका हुन् । पौडेलले इटहरी क्षेत्रमा रहेका करिब ७ वटा साना पैनीहरूको निरिक्षण गर्दै तत्काल कसरी बाढी नियन्त्रणमा काम गर्न सकिन्छ भनेर शनिवारै बिपद ब्यबस्थापनको बैठक राखेका छन् । बर्षामा अव्यवस्थित खोला पैनीहरु थुनिँदा इटहरीमा बर्षेनी बाढीले नितन्डा मच्चाउने गरेको छ ।
पैनीहरूमा जम्मा भएको पानी ओभर फ्लो भइ राजमार्ग हुदै मानव बस्ती प्रवेश गर्दा बस्तीनै डुबानमा पर्ने इटहरीको समस्या समाधान गर्ने बचन मेयर पौडेलले दिएका छन् ।बर्षा याम शुरु हुनै लाग्दा पैनीको सरसफाइ शुरु गरि यो वर्ष बाढीबाट त्यति क्षती हुन नदिन थप कामहरू अघि बढाइने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।
यो वर्ष बर्षाको समय शुरू भइसकेकोले सामान्य पैनीहरू सफा गरी पानीलाइ सजिलै पार गर्न दिने सम्मको कामहरू गरिने र खोलाहरू सफाईमा ध्यान दिने मेयर पौडेलले बताए । नगरपालिका प्रवेशद्धार अगाडि सामान्य पानीमा पनि डुबान हुने समस्या सामाजिक संजालमा जता ततै भेटेर मेयर पौडेललाईनै ट्याग गरिएपछि उनले कमेन्टमै पनि उक्त समस्यामा अफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।