इटहरीः विदेशी राष्ट्रमा व्यापक रुपमा फैलिरहेको मङ्कीपक्स रोग नेपालमा पनि आउन सक्ने जोखिम बढेको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम भएपनि अहिलेसम्म संक्रमित फेला नपरेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताएका छन् । एक प्रकारको भाइरसबाट सर्ने सरुवा रोगको रुपमा चिनिएको मङ्कीपक्स एकदमै खतरनाक रोग मानिएको छ ।
सङ्क्रमित व्यक्ति वा पशुसँगको सम्पर्कबाट सर्ने सो रोग नजिकको सम्पर्कमा आउँदा तिनीका ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गरेको तथ्याँक विदेशमा देखिएको छ । त्यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्छ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ।
ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।
त्यतिमात्र नभएर टाउको, ढाड र मासपेशीदुख्नु, शरीरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्छ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने भएको सजग रहनुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
रोगबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ। मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।