इटहरीः शुक्रबार दलित, महिला र छुवाछुतका विषयमा निकै दह्रो रुपमा प्रस्तुत भयो इटहरी । छुवाछुत अन्त्यमा स्थिर सामाजिक, धार्मिक कट्टर बैचारीकधार र दलित मुक्तिको बाटोमा गम्भिर चुनौतिको सवाल विषयक कार्यशाला गोष्ठीको आयोजना गरेर दलित कल्याण संघ प्रदेश एकले दलितका नाममा हुने गरेका छुवाछुत अन्त्य गर्न नव निर्वाचित दलित महिला सदस्यहरुलाई लाभदायक ओरेन्टेसनको कार्यक्रम गर्दै थियो ।
कार्यक्रमको आकर्षण मानिएका छुवाछुत अन्त्यका लागि धार्मिक कटर बैचारिक पथ भएको र त्यो मुत्तिको बाटोमा लाग्नुपर्ने चुनौतिका विषयमा दलित कल्याण संघका केन्द्रिय अध्यक्ष मोतीलाल नेपालीले तयार गरेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै नेपालीले दलितका सवाललाई महत्व नदिने जनप्रतिनिधिहरु तथा उपल्ला निकायमा बसेका सत्ता सञ्चालन गर्नेहरुका कारणले छुवाछुतको अन्त्य हुन नसकेको बताए ।
हरेक स्थानीय तहका दलित मुद्धालाई सम्बोधन गर्नका लागि दलित महिला सदस्य अनिवार्य हुनुपर्ने भन्ने पनि एउटा उपलव्धि भएकाले तिनै दलित महिला प्रतिनिधिहरुले दलितका हक हितका निमित्त प्रभावकारी भुमिका खेल्नुपर्ने मोती नेपालीको भनाई छ । उनले दलित महिला सदस्यहरुले हरेक स्थानीय तहमा दलित सचेतनाको लागि कार्यक्रमहरु गर्न सक्ने भएकाले त्यसैबाट छुवाछुतको अन्त्य गर्नमा सहयोग पुग्ने विचार समेत व्यक्त गरे ।
जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएको दलित महिला सदस्यहरुलाई नेपालीले भत्ता पचाउन हस्ताक्षर गर्ने मात्र नभई आफ्नो वडामा रहेका दलित तथा विपन्न बालबालिकाहरुलाई पढाउने संस्कृतीको विकास गर्न समेत आग्रह गरेका थिए ।
संविधानमा धेरै कुराहरु लेखिएको भएता पनि कार्यान्वयन पक्ष फितलो बन्दा दलितहरु पछाडी परिरहेको संदर्भ कोट्याउँदै दलित अगुवा मोती नेपालीले परम्परागत पेशालाई आधुनिकिकरण तर्फ लैजाँदै समाजवादको यात्रा आजको आवश्यतका रहेको औल्याए ।
कार्यक्रममा बोल्दै नेपाल दलित मुक्ति संगठन प्रदेश एकका कृष्ण रसाइलीले हाम्रो गाउँ समाजमा हुने दुई खाले भान्साको विरोध गर्नुपर्ने कुरा औल्याए । रसाइलीले शिक्षा र स्वास्थ्यमा सरकारले विशेष सहुलियत प्रदान गर्न सके दक्ष समाज निर्माण र देश विकासमा सहज हुने तर्क अघि सारेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी नेतृ अनिता परियारले नगरमा निर्वाचित भएर आएका दलित महिला सदस्य तथा अन्य जनप्रतिनिधिले संविधानले दिएको पाँच वटा कामगर्न सके अरु केही गर्न नपर्ने धारणा व्यक्त गरिन् ।
परियारले धर्मले महिलालाई देवीको रुपमा पनि देखेकाले धर्मले गर्दा मात्रै हामी थिचोमिचोमा पर्यौँ भनेर भन्न नमिल्ने बताउँदै अवको पाँच बर्षमा इटहरीका दलितले पनि हामी मान्छे हौं भनेर हिड्न सक्ने वातावरण मिलाउन निर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण गराइन् । नगरपालिकाले कतिवटा बाख्रो अनुदानको लागि बाँड्ने भन्दा पनि कति दलित तथा विपन्न वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा दिने भन्ने कुरामा ध्यान दिन निर्वाचित उपमेयर संगीता चौधरीको ध्यान आकर्षण गरेकी थिइन् ।
उनले उपमेयर नगरको न्यायधिश समेत हुने भएकाले स्थानीय सरकार संचालन ऐन दिनको २ घण्टा अध्ययन गर्न र न्यायको काम सुरु गर्न नव निर्वाचित उपमेयर चौधरीलाई आग्रह गरेकी थिइन् । दलित महिला सदस्यमा निर्वाचित हुनु सामान्य कुरा नभएको भन्दै नेतृ परियारले ‘तपाईहरु सांसद हो , स्थानीय सरकार हो । यतिखेर पनि जनताले रुने अवस्था नआओस, महिला बलात्कार भएको चित्कार नआओस’ भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ विमला शिवाकोटी ढकाललले दलित आन्दोलनका अगुवाहरु ब्राहमणको विरुद्धमा नभई सोचको विरुद्धमा लड्नु पर्ने भनाई राखिन् । उनले मन जितेर अगाडी बढ्न निर्वाचित महिला सदस्यहरुलाई आग्रह गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीले अहिले दलित महिला सदस्यको रुपमा निर्वाचित हरुलाई अर्को पटक वडा अध्यक्ष, मेयर तथा उपमेयरको नेतृत्व लिनको लागि तयार रहन भन्दै त्यसमा आफुले सहयोग गर्ने बचन व्यक्त गरिन् । चौधरीले आफु जनताको सेवा गर्न आएको भन्दै कार्यपालिकाको निर्वाचन सकिए पछि तिव्र गतिमा काम अगाडि बढ्ने बताइन् ।
दलित कल्याण संघ प्रदेश एकका अध्यक्ष पीवी दियालीले संचालन गरेको कार्यक्रममा जनचेनता समुहकी अध्यक्ष शिला गजमेर, इटहरी वडा नम्बर ८ कि दलित महिला सदस्य रंन्जना सरदार, महिला नेतृ तथा साँस्कृतिककर्मी सुष्मा तिम्सिना, नेकपा एसका सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
इलसियको सहयोगमा संचालन भएको कार्यक्रममा इटहरी उपमहानगरका २० वडाका २० जना र धरान उपमहानगरका २ जना दलित महिला सदस्यमा निर्वाचित भएका दलित महिला सदस्यलाई सम्मान गर्नुका साथै जनताका मुद्धा लेख्नका लागि कलम र डायरी प्रदान गरिएको थियो ।