इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा आगामी ५ बर्षका लागि पुनः निर्वाचित भएका महेश कुमार चौधरीले अवको पाँच बर्ष पहिले पुरा गर्न नसकेका काम गर्ने बताएका छन् ।

प्रदेश पोर्टलसँगको कुराकानीमा बोल्दै चौधरीले पहिला ५ वटा वडाहरु मिलेर बनेको वडा नम्बर १ ठुलो इलाका भएका कारण पनि विकास निर्माण चुनौती बनेको बताए । ‘पहिलो कार्यकालमा वडाका सडकहरुमा नाला बनाउने, एजिङ्ग गर्ने काम गरेको छु अव ग्राभेल, इन्टरलक र कालोपत्रे गर्ने काममा लाग्नेछु । ’ चौधरी भन्छन् ।

ग्रामिण क्षेत्र धेरै हुँदा काम गर्न चुनौती रहेको र यति हुँदा हुँदै पनि आफुले वडामा लोकप्रिय काम गरेर अर्को कार्यकाल समेत जनताले रुचाएको चौधरीले बताए ।आगामी ५ बर्ष वडा नम्बर १ को शिक्षा, स्वास्थ्य, पुर्वाधार र रोजगारी सिर्जनका काममा उनको योजना छ ।

शिक्षाको कुरा गरिरहँदा सरकारी विद्यालयमा भएको जनशक्ति क्षमताले शिक्षा क्षेत्रमा सुधारको अवस्था नभएको बताउँदै वडा नम्बर १ का अध्यक्ष चौधरी कानुन बनाएरै करारमा दक्ष जनशक्ति राखेर भएपनि सरकारी विद्यालयहरुमा नर्सरी देखि अंग्रेजी मिडियममा अध्ययापन गराउने व्यवस्था मिलाउन लागिपर्ने बताउँछन् ।

वडा नम्बर १ मै पर्ने भासी स्वास्थ्य चौकीको स्तर उन्नती र त्यहाँ ल्याव र भिडियो एक्सरेको सेवा संचालन गर्न नगरपालिकासँग सम्वन्वय गर्ने पनि नव निर्वाचित वडा अध्यक्षले हामीलाई सुनाए । त्यसो त विराटनगर आखाँ अस्पतालसँगको सहकार्यमा दैनिक आँखा जाँच गर्ने गरी सम्झौता गरेर आफुहरुले त्यसको लागि टहरा समेत निर्माण गरीसकेको महेश बताउँछन् ।

धेरै जसो जनप्रतिनिधिहरु भौतिक पुर्वाधारलाई मात्रै विकास सम्झिरहेका वेला मानविय विकासलाई वडा नम्बर १ ले कसरी हेरेको छ ? भनेर हामीले गरेको प्रश्नमा चौधरी भन्छन् ‘हामीले मानविय विकासमा ठुलो पड्को मारेका छौँ । महिला सशक्तिकरणमा हामी अगाडी छौँ उदाहरणका लागि हालै सम्पन्न स्थानीय निर्वाचनमा समेत ४ जना उपमेयरका महिला उम्मेदवारहरु वडा नम्बर १ बाट प्रतिनिधित्व गर्नुहुन्थ्यो र उपमेयर निर्वाचित तारा थापा वडा नम्बर १ कै बासी हुनुहुन्छ । त्यतिमात्रै नभएर वडामा हामीले आत्मनिर्भरका थुप्रै तालिमहरु संचालन गरेका छौँ । जसले पनि मानविय विकासमा सहयोग गरेको छ । ’

पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष चौधरीले वडाका अति विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई किताव र कलम किनिदिने महत्वपुर्ण निर्णय गरेका छन् । त्यतिमात्र नभएर वडाका सम्पुर्ण वृद्धहरुलाई सम्मान गर्ने पनि उनको कार्यक्रम रहेको छ ।

माया गरेर दोस्रो कार्यकाल पनि रुचाएको मतदातालाई धन्यवाद दिने चौधरी नेपाली कांग्रेस रामधुनीका नगर सचिव समेत हुन् । यस पाला विविध कारणले खुम्चिनु परेपनि आगामी निर्वाचनमा पार्टीलाई सुदृढीकरण गरेर जिताउने अवस्थामा लैजाने अठोट उनले गरेका छन् । नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवार बनेका सुदिप अधिकारीका समकालिन चौधरी आफुहरु अहिलेको युवा पुस्ताको नेतृत्व गर्न सक्षम रहेको सुनाउँछन् ।