इटहरीः आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई पक्राउ गरेको छ ।

सुवेदीले झापाको चन्द्रगढी घर भई हाल धरान १४ हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी आमा ४२ बर्षीया शान्त सुवेदीलाई गत शनिवार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनामा घाइते भएकी शान्ता सुबेदीलाई तत्काल उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । बीपीमा उपचार हुन नसकेपछि थप उपचारको लागी विराटनगरको न्युरो अस्पताल लगिएको थियो ।

न्युरो अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फर्काउने क्रममा आज दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न रहेका मृतकका छोरा सौगात सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।