इनरुवाः इनरुवा नगरपालिका–२ का पूर्ववडाध्यक्ष सुरेन्द्रप्रसाद यादवविरुद्ध करोडौँ रुपैयाँ तिरेर जग्गा खरिद गरेको ११ वर्ष बितिसक्दा पनि भोगचलन गर्न नपाएको भन्दै सिराहाका एक व्यक्तिले ठगी, धम्की तथा जग्गा भोगचलनमा अवरोध गरेको आरोप लगाएका छन्।
सिराहा, लक्ष्मीपुर पतारी–८ का भिखर राय अमातले यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगीसम्बन्धी जाहेरी दिएका हुन्। जाहेरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरी सुनसरी जिल्ला अदालत, इनरुवाबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
यादव पक्राउ परेको करिब तीन सातापछि अमातले बुधबार इनरुवामा पत्रकार सम्मेलन गर्दै आफू ११ वर्षदेखि आर्थिक तथा मानसिक रूपमा प्रताडित हुँदै आएको आरोप सार्वजनिक गरेका हुन्।
अमातका अनुसार २०७२ सालमा यादवसँग तीन कित्ता जग्गा १ करोड १० लाख रुपैयाँमा खरिद गर्ने सहमति भएको थियो। उक्त जग्गा सहकारीमा धितो रहेको भन्दै आफूले नै १८ लाख रुपैयाँ बुझाएर धितो फुकुवा गराएको उनले बताए।
तर, जग्गा पास गर्ने क्रममा आफूलाई जानकारी नदिई सहमति भएको रकमभन्दा करिब तीन गुणा बढी रकम उल्लेख गरी १ करोड रुपैयाँको कागज तयार गरेर जग्गा पास गरिएको अमातको आरोप छ।
बाँकी रकम ६ महिनाभित्र तिर्ने सहमति भए पनि आफूले ४–५ महिनाभित्रै यादवका छोराको सानिमा बैंक खातामा पटक–पटक गरी ८० लाख रुपैयाँ जम्मा गरेको उनले दाबी गरे।
“सहमति भएको रकमअनुसार सम्पूर्ण भुक्तानी गरिसक्दा पनि विवाद निकालेर थप रकम असुल्ने प्रयास भयो,” अमातले पत्रकार सम्मेलनमा भने।
उनका अनुसार त्यसपछि यादव पक्षले उक्त जग्गासम्बन्धी अंशबण्डाको मुद्दा दायर गर्नुका साथै जग्गा पास गर्दा तयार गरिएको १ करोड रुपैयाँको कागजलाई आधार बनाएर लेनदेनसम्बन्धी मुद्दासमेत अघि बढाएको थियो।
विवाद बढ्दै गएपछि यादवले अमातसँग १८ कट्ठा जग्गा फिर्ता लिएर बाँकी १ कट्ठा १८ धुर र १ कट्ठा १५ धुर जग्गा छाडिदिने तथा आपसी लेनदेन बाँकी नरहेको व्यहोराको भर्पाई कागज गरिदिएको अमातको भनाइ छ।
तर, भर्पाई भइसकेपछि पनि यादवले पुरानै कागजलाई आधार बनाएर सुनसरी जिल्ला अदालतमा १ करोड रुपैयाँ बिगो भराइपाऊँ भन्दै पुनः मुद्दा दायर गरेको अमातले आरोप लगाए।
“लेनदेन सकिएको भर्पाई गरिसकेपछि पनि एउटै कारोबारका आधारमा दोहोरो रकम असुल्न खोजियो,” उनले भने, “यसबाट ममाथि अन्याय भएको छ।”
अमातले विवाद मिलाउने बहानामा आफूलाई इनरुवा बोलाएर यादव र उनका आफन्तले धम्की दिएको आरोपसमेत लगाएका छन्। उनका अनुसार हस्ताक्षर मात्रै गरिएको बैंकको चेक नदिए खुट्टा भाँचिदिने भन्दै धम्की दिइएको थियो।
यादवकै भनाइअनुसार आफूले १८ कट्ठा जग्गा अर्का व्यक्ति पुष्कर कार्कीको नाममा पास गरिदिएको अमातले बताए। तर, उक्त जग्गा कार्कीले समेत भोगचलन गर्न नपाएको उनको दाबी छ। आफ्नो नाममा बाँकी रहेका दुई कित्ता जग्गामा समेत आफू जान नसकेको उनले बताए।
यादव पक्षले बाटो छेकेर तथा दबाब र दादागिरी देखाएर आफूलाई जग्गामा जान नदिएको अमातको आरोप छ।
यता, प्रहरीले अमातको जाहेरीका आधारमा यादवलाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी घटनामा अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनासम्बन्धी विवाद अदालतमा समेत विचाराधीन रहेकाले यादवमाथि लगाइएका ठगी, धम्की तथा जग्गा भोगचलनमा अवरोधसम्बन्धी आरोपको टुंगो अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट लाग्नेछ।




















