काठमाडौँः राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमीडिएट एजुकेशन यु।पी।बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्क्ली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विभागमा तत्कालीन समयमा सहायक निरीक्षक पदमा नियुक्त लिएको देखिएको छ । 


सो नियुक्ति लिइ सोही प्रमाणपत्र पटक–पटक बढुवा एवम् पदोन्नतिका लागि समेत पेस गरी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भइ हैसियत, लाभ एवम् सुविधा प्राप्त गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 


भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।