इटहरीः सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहरीले आरोपित प्रिन्सिपललाई खोजी गर्न थालेको छ । आरोपित राज खड्काको खोजीमा जिल्ला प्रहरी कार्यालय सुनसरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टिम परिचालित भएको छ ।

खड्का हाल काठमाडौँको नेपालटारमा रहेको सिद्धार्थ ईंङलीस बोडिङ स्कुलमा प्रिन्सिपलकै रुपमा कार्यरत थिए । तर उनको विरुद्धमा समाचार सार्वजनिक भएपछि स्कुल व्यवस्थापन समितिले शनिबारनै खड्कालाई विद्यालयबाट निकालेको छ । सीआईबीको टोली विद्यालय पुग्नु अगावै खड्का त्यहाँबाट ट्याक्सी चढेर फरार भएको प्रहरी स्रोतले जनाएको छ । आरोपित खड्का यो विद्यालयमा विगत एक वर्षदेखि कार्यरत थिए ।

खड्का बस्ने डेरा समेत खाली रहेको छ । उनी लुक्न सक्ने सम्भावित ठाँउहरुमा समेत प्रहरी परिचालन भएको जनाइएको छ ।सामाजिक सञ्जालमा यो विषय प्रति सबैको चासो केन्द्रित हुन थालेपछि सीआईबीले समेत चासो देखाउदै आरोपित पक्राउ गर्न विशेष टिम परिचालित गरेको छ ।

इटहरीस्थित तत्कालीन ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल रहेका खड्काले २०७२र७३ मा १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला यी युवतीमाथि बलात्कार गरेको आरोप छ । यस्तै उनले उपचार गराउने बाहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको पीडित युवतीको दाबी छ । खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको बताइएको छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार र्गयो ।’उनले आफूमाथि भएको शोषणका विषयमा सुरुमा साथीहरूलाई सुनाउँदा पनि विश्वास नगरेको बताएकी छन् । स्कुलमै तीन पटक आत्महत्या प्रयास समेत गरेको उनको भनाइ छ ।

घटनाको विषयमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा २०७४ भदौ २३ गते जाहेरी दिएकी थिइन । प्रहरीले समेत आवश्यक अनुसन्धान पुरा गरेर यो केश सुनसरी जिल्ला अदालत इनरुवा बुझाएको थियो । अदालतले पनि आरोपित खड्काको नाममा फरार अभियुक्त भनी सूचना प्रकाशित गरेको अवस्था छ । हाल यो मुद्दा हेर्दा हेर्दामा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

‘हामी अत्यन्त गम्भीर छौ, यो केशमा, आरोपितलाई शुरुमा पक्राउ गरेपछि मात्र यो घटना अघि बढ्ने अबस्था छ’ उनले भने ‘हाम्रो प्रहरी टोली खोज तलासमा लागेको छ ।’ साथै एसपी थापाले पीडित युवती र उनको परिवारसँग प्रहरी टचमा रहेको जानकारी दिए । यता पीडित युवतीले भने आरोपित खड्कालाई चाडो पक्राउ गर्न प्रहरी समक्ष आग्रह गरेकी छिन् । पीडित युवती र उनको परिवारले सोमबार इलाका प्रहरी कार्यालय धरान पुगेर घटनाको विषयमा थप जानकारी गराएका थिए । साथै धरानका डिएसपी बुद्ध श्रेष्ठसँग भेटेर आरोपित खड्कालाई चाडो पक्राउ गर्न पीडित युवतीले आग्रह गरिन् ।