इटहरीः चासो, र चर्चाको विषय बनेको इटहरी उपमहानगरको मतगणना सकिएर हेमकर्ण पौडेल नगरप्रमुखमा विजयी बनिसकेका छन् ।

मतदान र मतदाताको स्वविवेकले हुने चुनावी परिणामको अंकगणितलाई केलाउने हो भने राजनितिक दलहरुको घात र अन्र्तघातको शिकार कतै आफैँ त बनेनन् भन्ने समिक्षा पनि शुरु भइसकेको छ ।चुनावी दौडमा रहेको नगरप्रमुख पदका उम्मेदवारले कसले कति मत पाए भन्ने चर्चा यहाँ गर्न खोजिएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार इटहरी सदावहार टोलका याम कुमार चङ्गवाङ सुव्वालाई लगायत १५ उम्मेद्वारलाई हराउँदै आँपगाछीका हेमकर्ण पौडेल विजयी बनेका छन् ।नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत पाउँदा निकटतम प्रतिद्धन्दी बनेका यामकुमार सुब्बाले २८ हजार ३१ मत पाएका छन् ।

तेस्रो स्थानमा देखिएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३ हजार ९०८ मत पाएका छन् । उता गठबन्धनमा सहमति भएको भनिएको जनता समाजवादी पार्टीका उम्मेदवार डिल्ली प्रसाद लिम्बुले २८० मत पाएका छन् । नेतृत्वमा गठबन्धनको सहमति गरेपनि कार्यकर्ता र जनता रुष्ट भएका कारण जसपालाई मत आएको आंकलन छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मेयर पदका उम्मेदवार भिम कुमार लिम्बुले २२६ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाइजेसनका दिपेन्द्र राईले १६५ मत प्राप्त गरेका छन् ।त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका अक्षय कुमार चौधरीले ५८ मत पाएका छन् भने उता स्वतन्त्र उम्मेदवार बनेका दिल्ली राम दाहालले २४७ मत पाएका छन् भने अर्का स्वतन्त्र उम्मेदवार पदम कुमार अधिकारीले ४३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार टेकराज भुजेलले ३४ मत पाए ।

खम्बुवान राष्ट्रिय मोर्चा नेपालकी उम्मेदवार देशमाया राईले २५, मौकिल जरोकिलो पार्टीका उम्मेदवार रामेश्वर थापाले २१, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका गंगा बहादुर श्रेष्ठले २०, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उम्मेदवार भानुभक्त कोइरालाले ११ मत पाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार झमक बहादुर कार्कीले १ मत प्राप्त गरेका छन् । गज्जवको कुरा त के छ भने स्वतन्त्र तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका खगेन्द्र पौडेलले आफ्नो मत पनि अर्कैैलाई हालेका छन् । उनले एक मत पनि पाएका छैनन् ।