बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ मा पार्टीले पराजय भोगेको भन्दै बराहक्षेत्र नगरका एमाले नेताहरूले राजीनामा गरेका छन् ।

गत शुक्रबार वडा ३ मा अध्यक्ष पदका लागि उम्मेद्बारी दिएका नेकपा एमाले बराहक्षेत्रका इन्चार्ज समेत रहेका रुद्र दाहालले चुनाव हारेपछी पदबाट राजीनामा गरे ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘पार्टीले बराहक्षेत्र ३ को अध्यक्ष पदमा मलाई अघि सारेपनि झिनो मतान्तरले पराजय हुँदै पार्टीलाई पहिलो स्थान दिलाउन नसकेकोले नैतिकताको आधारमा नगर इन्चार्जबाट राजीनामा दिएको छु ।’ दाहाल नेकपा एमाले सुनसरीको वर्तमान जिल्ला सदस्य समेत हुन् ।

 शुक्रबार सोही वडाका पार्टी अध्यक्ष मोहन सुबेदीले समेत पदबाट राजीनामा गरे । उनले पनि पार्टीले उठाएका उमेदवारहरुलाई जिताउन नसकेकोले पदबाट राजीनामा गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, एमालेका नगर सदस्य मनोज कटवालले समेत आज (आइतबार) पदबाट राजीनामा गरेका छन् । पार्टीको वडादेखी जिल्लासम्म चरम अबसरबाद, व्यक्तिगत मनोमानी, गुटबन्दी, नेतृत्वमा देखिएको निरङ्कुसताले गर्दा पार्टीले धेरै स्थानमा हार व्यहोर्नुपरेको निष्कर्ष निकाल्दै पार्टीभित्र शुद्धीकरण होस् भन्नका लागि पदबाट राजीनामा गरेको छु, उनल लेखेका छन् ।