इटहरीः एमालेका प्रदेश नेता तथा इटहरी निर्वाचन परिचालन कमिटिका सह इन्र्चाज हिमाल सुवेदीमाथि कुटपिट भएको बिषयमा एमालेका कार्यकर्ताहरुले इटहरीमा यातायात बन्द गरेका छन् । एमालेका नेता कार्यकर्ताहरुले इटहरी प्रहरी कार्यालय अगाडीको राजमार्गमा बसेर यातायात अवरुद्ध गरेका हुन् ।
सुवेदीलाई आइतबार बिहान इटहरी ६ संगीत चोक नजिक गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार केशबकुमार बिष्टका छोरा सहितको ३ जनाको समूहले कु्टपिट गरेको दावी गरिएको छ ।
एमालले घटनापछि पत्रकार सम्मेलन गरि पराजयको परिणाम स्वीकार गर्न नसकेर इटहरीमा गुण्डागर्दी शुरु भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा दोषीलाई तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही गर्नु पर्ने माग राखेको छ ।
पत्रकार सम्मेलनमा आक्रमण गर्नेले पटक पटक सुवेदीको मोबाइलमा म्यासेज गरी धम्की पनि दिएको दावी गरिएको छ । नेकपा एकीकृत समाजवादीका इटहरी नगर अध्यक्ष गणेश बुढाथोकीले घटना भयो भन्ने सूचना आफुले पाएको तर के कति कारण त्यस्तो हुन गयो बुझ्ने प्रयास भईरहेको बताए ।
कुटपिट गरिएका भनिएका कैलाश बिष्टसंग सम्पर्क नभएकाले यसै हो भन्ने अवस्था तत्काल नभएको उनले बताए । बाहिर आए जस्तो र एमालले पत्रकार सम्मेलनमा दावी गरे अनुसार घटना भएको हो भने दुःखद भएको उनले बताए ।
कैलाश विष्टले चुनाव प्रचारका बेला सुवेदीले इटहरीको वडा नम्बर १५ बाट केशब विष्ट सहितको टोली पैसा बाँड्दै गर्दा जनताबाट लखेटिएको भन्ने स्टाटस के प्रमाणका आधारमा लेख्नु भयो अंकल भनेर सोधेपछि विवाद भई हातपात भएको प्रत्यक्षदर्शीले दावी गरेका छन् । प्रहरीका अनुसार नेता सुवेदीमाथि आक्रमण गर्नेहरुको खोजी भईरहेको छ ।