बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचका संयुक्त उमेदवार रमेश कार्की मेयर र नेकपा एमालेकी नन्दकुमारी राई उपमेयरमा निर्वाचित भएका छन् ।

शनिवार राति सम्पन्न मतगणनामा नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति समेत रहेका कार्कीले एमालेका निलम खनाललाई ५ हजार १ सय ३९ को मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतका अनुसार कार्कीले १९ हजार २ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी खनालले १४ हजार १ सय ५८ मतमा चित्त बुझाएका छन् ।

खनालले २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसका बाबुराम विष्टलाई २९ सय ५७ मतले पछाडि पार्दै विजयी भएका थिए । यता उपमेयरमा निर्वाचित एमालेकी राईले १५ हजार ७ सय ६६ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट माओवादी केन्द्रका अमित गौतमले १० हजार ५ सय ४४ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीयतह निर्वाचन ११ वटा वडा रहेको बराहक्षेत्रमा एमालेले ८ वटा वडा, मेयर र उपमेयरसहित बहुमत सदस्य विजय हासिल गरेको थियो । तर अहिलेको निर्वाचनले त्यसलाई उल्ट्याइदिएको छ । जसअन्तर्गत नेकपा एमालेका उमेदवारहरु क्रमशः १ वडामा नेकपा किसन मगर, २ मा नेकपा होमप्रसाद गौतम र ४ मा आशाराम चौधरी विजयी भएका छन् ।

यता गठबन्धनका तर्फबाट उमेदवारहरु क्रमशः ३ वडामा नेपाली कांग्रेसका राजदिप लामा, ५ मा कांग्रेसका रोहित काफ्ले, ६ मा कांग्रेसका उद्धवप्रसाद पोखरेल, ७ मा कांग्रेसका कपिल आचार्य, ८ मा कांग्रेसका रोशन खड्का, ९ कांग्रेसका निरञ्जन चन्द्रवंशी, १० मा कांग्रेसका तेजबहादुर गुरुङ र ११ मा कांग्रेसका कृष्णकुमार महतो विजयी भएका हुन् ।