इटहरीः नेपाली कांग्रेसबाट इटहरी ४ को वडा अध्यक्षमा उम्मेदवार बनेका बिक्रम बाबु थापाले एमालेबाट विजयी उम्मेदवार भक्त लामालाई घरमै पुगेर बद्याई दिए ।

आफु पराजित भएपछि विजयी उम्मेदवारलाई घरमै गएर बद्याई दिने संस्कारमा होमिएका थापाले आफु अव पर्यान्त सहयोगी भुमिकामा देखिने पनि बताए ।

नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारी दिएका विक्रमबाबु थापालाई ३३६ मतले हराउँदै नेकपा एमालेका भक्त लामाले वडा अध्यक्षको जित हासिल गरेका थिए ।
आफू पराजित भएपनि थापाले विजयी लामालाई उनले घरै पुगेर बधाई दिएर उदाहरणीय असल राजनितिक संस्कारको शुरुवात गरेका हुन् । उनको यो कार्यको यतिबेला चौतर्फी चर्चा भईरहेको छ ।

एमालेको लालकिल्ला नै मानिएको इटहरी ४ मा पञ्चायत कालदेखिनै कांग्रेस पछाडी छ तर पनि थापाले गठबन्धनको सहयोगमा झिनो मतान्तरमा पुगेर हार व्यहोरेका थिए ।
इटहरी ४ मा नेकपा एमालेको गड रहेपनि यसपटक आफूहरूले जित्नका लागि प्रयास गरेपनि असफल भएको थापाको भनाई थियो ।

चुनावी मैदानमा प्रतिस्पर्धी भुमिका निर्वाह गरेता पनि अव विकास निर्माणका काममा सहयोगी बन्ने थापाले बताएका छ ।उनले भने, ‘हिजोको दिनमा हामी प्रतिष्पर्धी थियौँ, अब उहाँले विकास निर्माणमा साथ मागेको अवस्थामा सधैँ सहयोग गर्नेछु ।’

मतदाता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले मतदाताहरुको अपार सहयोग, सद्भाव, मेहनत, माया र विश्वासलाई केही प्राबिधिक कारणहरुले जितमा रुपान्तरण गरेर तपाईंहरुको मुहारमा रंगीन र खुसी ल्याउन नसकेकोमा नतमस्तक र क्षमा मागेका छन् ।

उनले भनेका छन् ‘निर्वाचनमा हाम्रो टीम र नेपाली काङ्ग्रेस पार्टीलाई जिताउन अहोरात्र खट्नु हुने आम कार्यकर्ता,आम मतदाता,सबै प्रति नमनका साथ कृतज्ञ छु ।’
हाम्रो लागि राजनीति एउटा चुनावको जित र पद मात्र होइन, जीवनशैली हो । समाजसेवा हो ,सामाजिक कर्म र धर्म पनि हो । ’ थापाले भनेका छन् ।

उनि भन्छन‘आगामी दिनहरुमा पार्टीलाई अझ सशक्त र बलियो बनाउने कर्ममै रहेर कामगर्नेमा शंका नगर्नुहोला । कहीँ कसैलाइ जटिल र अफ्ट्यारो परिस्थिति आइ परेमा आफु अझ झन शसक्त र सामाजिक पिल्लर भएर साथमा सधै उभिने प्रण गर्दछु ।’