इटहरीः झापाको दमकमा नगरप्रमुख निर्वाचित भएका राम थापा लामो हारबाट पाठ सिकेर त्यहाँ आएका व्यक्तित्व हुन् ।

२४ बर्ष अघि देखि लगातार मेयरमा प्रतिस्पर्धा गरिरहेका थापालाई यसपाला भने एमालेलाई परास्त गर्न बनेको गठबन्धनले सपना साकार गरिदिएको छ अर्थात राम थापा अव झापाको दमक नगरपालिकाका निर्वाचित मेयर बनेका छन् ।

बन्नलाई राम थापा मेयर बनिसकेका व्यक्ति हुन तर त्यतिवेला उनि मनोनित मेयर बनेका थिए अहिले जननिर्वाचित मेयर बनेका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले थापालाई दमक नगरपालिकाको मेयर मा मनोनित गरेका थिए ।

राप्रपाका नेता थापा राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीतिक यात्रा सुरू गरेर गणतन्त्र सम्मको यात्रामा आइपुगेका छन् । भलै उनको जननिर्वाचित मेयर बन्ने सपना भने लोकतान्त्रिक मान्यता बोकेका दलले पुरा गरिदिएका छन् अर्थात एमालेको विरुद्ध झापाको दमकमा भएको लोकतान्त्रिक गठबन्धनमा राप्रपा पनि सामेल थियो र त्यसैबाट मेयर पदमा उम्मेद्वार बनेका थिए राम थापा ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सत्ता गठबन्धनका दलको सहयोगमा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको राजनीतिक नेतृत्व हात पारेका हुन्।

थापाले १७५२५ मत पाएका छन् भने उनकी प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत ल्याएकी छन् ।उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेगिना भट्टराईले जित हात पारेकी छन् । १७०७२ मत पाएकी भट्टराईले एमालेका अम्बिकाप्रसाद खनाललाई हराएकी हुन् एमालेका उम्मेद्वार खनालले १६५७४ मत प्राप्त गरेका छन् ।

राप्रपाका प्रदेश १ अध्यक्ष थापाले २४ बर्षदेखि निरन्तर चुनावी मैदानमा थिए तर जित हुन सकेको थिएन । २०३९ सालमा दमक नगरपालिका बनेदेखि नै उनले मेयर बन्ने सपना बुन्दै आएको बताइएको छ ।

२४ वर्षअघि पहिलो पटक मेयर लडेका उनले त्यसयता प्रयास जारी राखेका थिए। २०७४ सालको स्थानीय निर्वाचनमै थापाले ७ हजार ६ सय ५५ मत ल्याएर दास्रो स्थान हासिल गरेका थिए ।

गठबन्धनबाट लडिएका चुनावहरु सबै सफल बनेका छैनन् तर झापाले त्यस्तो देखाएर अझ भनौ दमकले त्यस्तो देखाएन । थापाको साथ दमकले दियो अनि पुरा भयो सपना अव दमक बासिको सपना पुरा गर्ने जिम्मा उनको हातमा छ ।

अन्य दलहरू थापाप्रति इमान्दार देखिनुका पछि उनीहरूको आफ्नै स्वार्थ निर्णायक बन्यो। उनीहरू जसरी पनि दमकमा एमाले हराउन चाहन्थे।हालसम्मको चुनावी इतिहासको नतिजाअनुसार दमक एमालेको परम्परागत किल्ला मानिन्थ्यो। २०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो।

यी तीनमध्ये पछिल्ला दुईटा निर्वाचनमा राम थापा एमालेका रोमनाथ ओलीका निकटतम् प्रतिस्पर्धी बने २०५४ मा ओलीसँगै हार व्यहोरेका उनले २०७४ मा पनि दोस्रो स्थानमै चित्त बुझाए र यो चुनाव थापाको इतिहास बदल्न आयो र जित हासिल पनि गरेका छन् ।