धरानः धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईलाई १२९७ मतको फराकिलो अन्तरले पछाडि पारेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मतगणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । गठबन्धनका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले ८७३९ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाई रहनु परेको छ । धरानमा अब २३५४१ मत गन्न बाँकी छ ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता यथावत नै छ । उनले १२ हजार ३७६ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वो लिम्बूले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । बेघा लिम्बूभन्दा ६११ मतले अगाडि छन् ।

Artboard 10 (1)

हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ । वडा नं ११ को ३५०० मतगणना भइसक्दा वडाअध्यक्षमा कांग्रेसको उम्मेदवार लोकेन्द्र फागो ९४१ मत प्राप्त गरेर अगाडि छन् भने एमालेबाट वडाअध्यक्षका उम्मेदवार किरण राईले ८९३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका जितराज राईले ५५२ मत प्राप्त गरेका छन् ।

यसैगरि, वडा नं १३ को २ हजार मतगणना सकिदा वडाअध्यक्षमा एमालेका नेत्र काफ्ले ८५० मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट वडाअध्यक्ष उम्मेदवार पेम्बा तामाङले ६२३ मत प्राप्त गरेका छन् ।वडा  नं १४ को १८०० मतगणना सकिदा राप्रपाका वडाअध्यक्ष उम्मेदवार कृष्णप्रसाद भट्टराईले ७९० मत प्राप्त गरेर अगाडि छन् । उनि यसअघि नेपाली कांग्रेसमा विजयी वडाध्यक्ष हुन् । यसपटक पार्टीले टिकट नदिएपछि राप्रपाबाट टिकट लिई उम्मेदवार बनेका हुन् । एमाले उम्मेदवार उत्तम आले ५६७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वार श्याम श्रेष्ठले २५५ मत प्राप्त गरेका छन् ।

धरानको वडा नं २० को दस्तखत विनाको मतपत्रको विवादले अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । वडा नं १५, १६ र १७ को मतपेटिका भने अहिलेसम्म खोलिएकै छैन् । यी तीन वडामा जसले बढी मत पाउँछ उसैले धरानमा यसपाली बाजी मार्ने छ । यी ३ वटा वडामा पनि हर्कको राम्रो प्रभाव रहेको दावी समेत रहेको छ ।