इटहरीः नेपाली कांग्रेसका केन्द्रिय नेता समेतको गृह वडा इटहरी ४ मा नेकपा एमालेका भक्त लामाले जित हासिल गरेका छन् । लामाले नेपाली कांग्रेसका उम्मेदवार विक्रम थापालाई ३३६ मतले पछि पार्दै जित निकालेका हुन् ।

२०७४ को स्थानीय निकायको निर्वाचनमा पनि नेकपा एमालेकै चन्द्र भट्टराईले जितेको इटहरी ४ मा यसपाली माओवादी, नेकपा एस र जसपा सहितको गठबन्धन रहँदा समेत यसपाली पनि कांग्रेसले जित्न सकेन् ।

कांग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पूर्व केन्द्रिय सभापति रहेका राजीव ढुंङ्गाना, प्रदेश नम्बर १ का सदस्य सुर्य राई देखि लिएर महाधिवेशन प्रतिनिधि विकास केसी यसैवडाका बासिन्दा हुन् । त्यती मात्रै होइन, नेपाली कांग्रेसका तर्फबाट इटहरीको मेयरका लागि टिकट लिन रेसमा सहभागी भएका नेता एंव उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल समेतको गृह वडाको रुपमा चिनिएको इटहरी चारमा बारम्बार नेकपा एमालेले जित्नुलाई पार्टीभित्रको गुट उपगुटको परिणामको रुपमा लिने गरिएता पनि नेताहरुले यस्तो नभएको टिप्पणी गरेका छन् । 

280535847_3392770850952662_6065094233175708639_n

इटहरी ४ मात्रै नभई गुटकै राजनितिले गर्दा यसपटकको निर्वाचनमा ०७४ मा जितेको इटहरी ३  गुमाउन पर्यो । वडा नम्बर २ जित्ने लगभग निश्चित झै भएपनि गुटका कारण कमजोर उम्मेदवारलाई उम्मेदवार बनाएकाले २ नम्बरमा फेरी एमालेले कब्जा जमाएको बिषय पनि इटहरी कांग्रेस वृत्तमा यतिबेला चर्चामा छ । कतिपय वडाहरुमा मेयरलाई राम्रो मत आउनु र वडाअध्यक्षका उम्मेदवारलाई कम मत आउनुलाई पनि कांग्रेसभित्र बहसको बिषय बनेको छ । 

ढुंङ्गाना र पौडेल अब हुने प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवारकै रेसमा छन् । आफ्नै वडामा आफ्ना उम्मेदवार पराजित भएपछि उनिहरुलाई पनि नैतिक संकट भने परेको छ ।
गठबन्धनमा रहेका अन्य पार्टीले वडा नम्बर ४ को भाग माग्दा समेत कांग्रेसले आफ्नो राम्रो संगठन भएको वडा भन्दै गठबन्धनका अन्य दललाई दिन मानेको थिएन तर अन्यमा हार्नुको कारण भने अधिकांश नेताले मतपत्र वदर हुनु हो भन्ने टिप्पणी गरिरहेका छन् ।

०७४ सालको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट माओवादीका कविन्द्र केसी उम्मेदवार बनेका थिए । उनले निकै राम्रो मत ल्याई दोस्रो स्थान हासिल गरेका थिए । यसपटक सो वडामा केसीलाई नै उम्मेदवार बनाउने योजना अनुसार माओवादीले गठबन्धनको बैंठकमा वडा दावी गरेको थियो । तर कांग्रेसका केन्द्रिय र प्रदेश नेता समेत भएको वडा भएकाले जित सुनिश्चत भएको भन्दै कांग्रेसले वडा नम्बर ४ छोडेन् । वडा नम्बर ४ पाएसंगै कांग्रेसले युवा नेता विक्रम थापालाई अघि सार्दै वडाध्यक्ष पदको उम्मेदवार बनाएको थियो ।

283038241_5144628712285612_5132570028893372943_n

शुक्रबार सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार भक्त लामाले २ हजार ३७२ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार ले २ हजार ४७ मत ल्याएका छन् ।भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा समेत मेयरका आकांक्षी मानिएका भिम पौडेल गबन्धनको कारणबाट मतहरु धेरै वदर हुँदा नेपाली कांग्रेसले वडा नम्बर ४ मा हार व्यहोर्नु परेको बताउँछन् ।

सबै वडामा नभएपनि २ नम्बर ५ नम्बर र ४ नम्बर वडामा मतदाता शिक्षा नहुँदा धेरै मत वदर भएको र हार व्यहोर्नुपरेको पौडेलले बताए । पार्टी नेतृत्वले यसलाई गम्भिर रुपमा लिएको र क्रमिक रुपमा सुधार्दै लानुपर्ने महशुस गरेको पौडेलले प्रदेश पोर्टलाई बताए । ‘मतदाताको घरमा जनताको समस्या बुझ्दै कांग्रेसले अगाडी बढ्नुपर्छ । त्यो हामीले महशुस गरेका छौँ ।’ पौडेलले अघि भने ।

इटहरी मेयरमा दह्रो आकांक्षीको रुपमा देखिएका पौडेल प्रदेशसभाको निर्वाचनका लागि तयारी गरिरहेको बुझिन आएको छ । आफ्नै वडामा कमजोर सावित भएकोले पौडेललाई संगठनलाई बलियो बनाउन निकै संघर्ष गर्नुपर्ने प्रष्ट देखिन्छ । उद्योग वाणिज्य संघको ३ बर्षे कार्यकाल पनि सकिन लागेको छ । पौडेलले वाणिज्य संघको निर्वाचन अघि सार्वजनिक गरिएको संकल्पपत्र अनुसार काम नै गर्न नसकेको आरोप पनि लाग्न थालिसकेको छ ।

उता नेपाली कांग्रेसका युवा नेता विकास केसीले वडा नम्बर ४ पञ्चायतकाल देखि नै एमाले गढ भएको तर आफुहरु निरन्तर संगठन विस्तारमा लागिरहेको बताए । ‘पञ्चययत कालदेखि कै एमालेको गढ हो वडा नम्बर ४, हामी निरन्तर हाम्रो पक्षमा पार्न प्रयासरत छौ । अघिल्लो निर्वाचनमा ८०० मतले हामी पछाडी थियौँ भने यसपाली ३२० मतको मात्रै अन्तर छ तर वदर मत बढी भएको हुँदा हामी हारेका हौँ यसमा मतदाता शिक्षा अलिक कम भएको हाम्रो ठम्याई छ । ’ केसीले प्रदेशपोर्टलसँग भनेका छन् । कलम र रुखमा गरेर वडा नम्बर ४ मा मात्रै ६०० मत वदर भएकाले पनि आफुहरुले पराजय भोग्नु परेकको केसीले हामीसँग बताए । सांगठनिक रुपमा आफुहरु अहिले वडा नम्बर ४ मा राम्रो भएको र निरन्तर सुदृढिकरणमा लागेको उनको भनाई छ ।

कांंग्रेसका केही नेताहरुले भने इटहरी कांग्रेस भित्र बाहिर देखाउने एउटा र भित्र भित्रै गुटको राजनिति गरेर एक अर्कालाई सक्ने रोगबाट अझै मुक्त हुन नसक्नु नै गठबन्धन हुँदापनि वडा नम्बर ४ फेरी गुमाउनु परेको दावी गरेका छन् । नेताहरु भन्छन्–‘हारपछि आफु जोगिनलाई माथिल्लो नेतृत्वमा बसेकाहरुले अनेक बहना बनाउन पाउदैनन् । यसको पार्टी भित्र गम्भिर बहस बिषय बनाउनै पर्छ । नत्र गुटको राजनितिले कांग्रेसलाई अझ ठूलो क्षति नगर्ला भन्न सकिन्न  ।’