झापाः निरु राजवंशी विहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको गेट अगाडि आइपुग्छिन् अनि सुरु गर्छिन् चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर सुरु हुन्छ । यसरी उनको दैनिकी वितेको आज छ दिन भयो ।

मेचीनगर नगरपालिकाको १५ वटै वडाको मत गणना यतिबेला नगरपालिकाको कार्यालय भित्र भइरहेको छ । मत परिणाम सुन्न बसेका दलका कार्यकर्ता रात अबेरसम्म र विहान उज्यालो नुहँदै आइपुग्छन् र चिया नास्ताको अर्डर सुरु गर्छन् ।

आफूले मत दिएको पार्टीको परिणाम सुन्न आउने विभिन्न क्षेत्रका मतदातादेखि नेतासम्म गरी दैनिक एक हजार पाँच सयको हाराहारीमा नगरपालिका आसपास क्षेत्रमै हुन्छन् । उनीहरुलाई नै लक्षित गरेर मेचीनगर नगरपालिकाको गेट नजिकै चलिरहेको आधा दर्जन होटलसहित सडकमा चिया नास्ता बेच्ने पसलहरु यतिबेला बढेका छन् ।

लामो समयदेखि इटाभट्टा बजार चोकमा आलु प्याजको पकौडा बेच्दै आएकी निरुको अझै एक हप्ता त्यही व्यवसाय फस्टाउने देखिन्छ । “बजार तिर मान्छे छैनन् । सबै यतै भीड लागेका छन्”, उनी भन्छिन्, “व्यापार पनि हुने, चुनाव पनि हेर्न पाइने भनेर यतै व्यवसाय सुरु गरेको । अब भोट गनिसकेपछि पुरानै ठाउँमा फर्किन्छु ।” उनले दैनिक खर्च कटाएर रु। एक हजार ५०० बढी आम्दानी गर्दै आएको बताइन् ।
उनी जस्तै पालिकाको परिसरमा खुद्रा व्यापार सुरु गर्ने यतिबेला १० जना छन् । सबै पसलका व्यापारीलाई चिया, नास्ता, पापड, पकौडा बनाएर बेच्न भ्याईनभ्याई छ ।

झण्डै एक महिना यता विभिन्न स्थानका चोक बजारमा व्यवसाय चलाउँदै आएका उनीहरुको व्यापार ठप्प थियो । “आम्दानीसँगै रमिता हेर्न मज्जा आइरहेको छ”, जेठ ३१ गते अपरान्हदेखि मत गणनास्थल परिसरमै पापड, पकौडा बेच्दै आएकी लिली चौधरीले भनिन, “विक्री पनि राम्रो भइरहेको छ । ग्राहक कुरेर बस्नु पर्दैन । अर्डरको सामान पुर्याउनै धौ–धौ छ । उनलाई श्रीमान र छोरीले पनि साथ दिइरहेका छन् ।

unnamed (2)

लामो समयदेखि नगरपालिका छेउमै होटल सञ्चालन गर्दै आउनुभएका रमेश केसीको दिनमै जस्तो रातमा पनि यतिबला व्यापार चलेको छ । उनका होटलमा मत परिणाम सुन्न आएका राजनीतिक दलका कार्यकर्ता, उम्मेद्वारदेखि पार्टीका नेताहरुसम्मको खाना, खाजा, चिया खानेको भीड लाग्ने गर्छ ।

निर्वाचन अधिकृतले १ नम्बर वडाको नजिता ६० घण्टालगाएर गरिसकेका छन् । एउटा वडाको नजिता निकाल्न ६० घण्टा लगाएको निर्वाचन अधिकृतको कार्यालयले बाँकीको नजिता निकाल्न त्यति धेरै नलागेको जनाएको छ । तर स्थानीय पत्रकार प्रकाश पौडलले जिल्लाका अन्य पालिकाको तुलनामा मेचीनगरमा मतगणना ढिलो भइरहेको हुँदा अझै एक हप्ता लाग्न सक्ने बताए ।

सडक किनारमा पाल टाँगेर व्यापार सुरु गरेका व्यापारी र होटल सञ्चालकहरुको भने व्यापार व्यवसाय फस्टाएको छ । ठूला होटलमा भन्दा यतिबेला चिया, नास्ता र पकौडा, पापड विक्री गर्ने खुद्रा पसलमै ग्राहकको भीड लाग्ने गरेको छ । रासस