इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका माधव कोइरालाको प्यानलै विजयी भएको छ ।
विजयी कोइरालाले ३२२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजु बस्नेतले २६८० मत प्राप्त गरेका छन् ।
सो वडामा नेकपा एमालेकै महिला सदस्यमा भिमाकुमारी तुम्बाहाम्फे, खुल्ला सदस्यमा कृष्णकुमार राई, दलित सदस्यमा चम्पामाया विक र खुल्ला सदस्यमा दुर्गाबहादुर खत्री विजयी भएका छन् ।
सो वडामा नेपाली कांग्रेसका तर्फबाट दीपेन्द्र घिमिरे आकाक्षी भएपनि उनलाई टिकट नदिएर बस्नेतले दिइएको थियो । घिमिरेले बागी उम्मेदवारी दिएका थिए । पछि पार्टीको दवावमा उनले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी छनौट देखिनै नेपाली कांग्रेसभित्र चरम असन्तुष्टि बढेको थियो ।
घिमिरेले टिकट पाएको भए सो वडामा कांग्रेसले यसपटकको निर्वाचनमा विजय हासिल गर्ने चर्चा थियो । इटहरी उपमहानगरमा हेमकर्ण पौडेलले टिकट पाएपछि रोहित प्रसाई र विकास केसी समूहले इटहरी उपमहानगरका ८ वटा वडामा आफुलाई हुन पर्ने दावी सहित सो वडाहरु लिइएको थियो ।
वडा नम्बर २ मा टिकट नपाएका घिमिरे पौडेल निकट थिए । बस्नेत रोहित निकट थिए । कांग्रेस भित्रको वडाहरुमा टिकट वितरणमा असन्तुष्टि बढ्दा इटहरी २ मा यसपटक पनि एमालेलाई नै फाइदा पुगेको कांग्रेस नेताहरुले नै दावी गरेका छन् ।
इटहरी २ मात्रै होइन, इटहरी ३ मा पनि तुला लिम्बूलाई टिकट दिनुको साटो निर्वतमान वडाध्यक्ष बालकृष्ण विष्टलाई नै टिकट दिएपछि वडाका सभापति समेत रहेका लिम्बूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कारण ०७४ सालको निर्वाचनमा जित हासिल गरेको कांग्रेस सो वडामा पराजित हुनु परेको हो । सो वडामा विष्टको भन्दा लिम्बूको मत बढी आएको छ ।