इटहरीः निर्वाचन आयोगले हस्ताक्षर नभएको मतपत्र भेटिएपछि अवरुद्ध रहेको धरान उपमहानगरको मतगणना सुचारु गर्न निर्देशन दिएको छ ।
मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई कारबाही गर्ने र सो मतपत्र बदर हुने भन्दै निर्वाचन आयोगले धरानको मतगणना कार्य सुचारु गर्न निर्वाचन अधिकृतको कार्यलय धरानलाई निर्देशन दिएको छ ।
आयोगले बुधबार राती एक पत्र पठाउदै मतदान अधिकृतको दस्तखत नभएको मतपत्र वदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको हो ।सुरक्षा प्रबन्ध मिलाएर मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ भने हस्ताक्षर नभएको मतपत्र बदर हुने समेत खुलाएर पठाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानले आयोगमा मतपत्रको बिषयमा भएको विवाद र माओवादी केन्द्रको मागबारे पत्राचार गरेपछि आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगका उपसचिव ऋर्षीराम भुसालले बुधबार राती निर्वाचन अधिकृतको कार्यालय धरानलाई पठाएको पत्रमा दस्तखत नगरी मतपत्र वितरण गर्ने मतदान अधिकृतलाई विभागीय कारबाहीको लागि सिफारिश गर्ने निर्णय पनि भएको उल्लेख छ ।
यस्तै, मतगणना सुचारु गर्न राजनीतिक दल तथा उम्मेदवार वा उनका प्रतिनिधि सहमत नभएमा वा उपस्थित नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १६७ वमोजिम गर्न पनि निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ । आयोगले मतगणना प्रक्रियाको क्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्लाको प्रजिअलाई पनि आयोगले निर्देशन दिने निर्णय पनि गरेको छ ।