इटहरीः धरान उपमहानगरको मत परिणाम यसपटक हेर्न लायक बनेको छ जति काठमाण्डौ महानगरपालिकामा बालेन्द्र शाहको रोचक अग्रता बनेको छ ।
लौरो बोकेर चुनावी मैदानमा होमिएका दुवैको मत हेर्दा लाग्छ दलको दलदलमा फसेको नेपाली लोकतन्त्रमा उनिहरुले चुनौती दिइरहेका छन् ।धरानमा पनि समाजसेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय हर्क साम्पाङ्गको लोकप्रियतालाई लिएर धेरै आंकलनहरु हुन थालेका छन् ।
१२ बजेभन्दा पहिला गठबन्धनले उछिनेको धरानमा बुधबार अपरान्हको अपडेट अनुसार मेयरमा गठबन्धनका किशोर राईलाई उछिन्दै हर्क साम्पाङ्गले अग्रता लिएका छन् । अहिले हर्क साम्पाङ्गको लौरोले पनि किशोर राईलाई डराउने गरी मत परिणाम ल्याएको छ । मतगणनाको शुरु देखिनै पछ्याइरहेका साम्पाङ्ग घरीघरी तेस्रो स्थानमा पुगेपछि दोस्रो स्थान छाडेका थिएनन् तर पहिलो स्थानमा भने बुधबार अपरान्हबाट माथि उक्लिएका हुन् ।
साम्पाङ्गले ८ हजार ४६ मत ल्याउँदा गठबन्धनका किशोर राईले ७ हजार ९९६ मत ल्याएका छन् । यी दुवैको मतान्तर ५० मात्रै छ । उता नेकपा एमालेबाट मेयर पदकी उम्मेद्वार मन्जु भण्डारी घरी घरी बाहेक तेस्रो स्थानबाट उक्लिन सकेकी छैनन् । भण्डारीको हालसम्मको मत परिणाम ६ हजार ६१० पुगेको छ । मन्जुसँग साम्पाङ्गको मत तुलना गर्दा १ हजार ४ सय बढिको फरक छ ।
उपमेयरमा भने गठबन्धनका आइन्द्र विक्रम बेघा अगाडी छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार ८९७३ मत प्राप्त गरेका छन भने एमालेका पदम इस्वोले ८६२३ मत प्राप्त गरेका छन् । धरानको मतगणना जारी छ ।