इटहरीः रामधुनी नगरपालिकामा २१ हजार मत गणना हुँदा नेकपा एमालेले मेयर र उपमेयर दुवैमा आफ्नो अग्रता कायम राखेको छ ।
बुधबार बिहान ८ बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार शंकरलाल चौधरीले ९ हजार ५९१ मत ल्याउँदा नेपाली कांग्रेसका सुदिप अधिकारी ८ हजार ५२७ मतमा पुगेका छन् ।
वडा नम्बर ५ को मत गणना नहुन्जेल सम्म झण्डै २ हजार मतले अघि रहेका शंकरलाल वडा नम्बर ५ ले कांग्रेसलाई राहत दिएपछि एक हजार भन्दा केही मतले अगाडि देखिएका हुन् । उता नेकपा माओवादीका मेयर पदका उम्मेदवार चन्द्र कुमार चौधरीले हालसम्म ५३७ मत पाएका छन् भने राप्रपाका सत्य नारायण चौधरीले ३०५ मत पाएका छन् । यसैगरी नेकपा एकीकृत समाजवादीका सिताराम घिमिरेको मत सयको हाराहारी मात्रै छ ।
उपमेयर तर्फ पनि नेकपा एमालेको अग्रता कायम छ । बुधबार बिहान सम्मको मत परिणाम अनुसार नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार तारा थापाले ९हजार १५१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी आशा कुमारी चौधरीले ७ हजार ५६७ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने एमाले र कांग्रेसको मतान्तर २ हजार मत हाराहारीको छ । यसैगरी नेकपा माओवादी केन्द्रकी श्याम कुमारी शाहले ८५१मत ल्याउँदा नेकपा एकीकृत समाजवादीकी सिता चौधरीले ५९५ मत प्राप्त गरेकी छन् भने जसपाकी लिली कुमारी चौधरीले १३३ मत पाएकी छन् ।