इलामः ३१ बर्षपछि इलाम नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
२०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा पुनः नेपाली कांग्रेसले जित हासिल गरेको हो ।
०७४ सालमा भएको स्थगानीय तह निर्वाचनमा नेकपा एमालले जितेको इलाम नगरपालिकामा यसपटक नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मेयर र उपमेयर नै विजयी भएका हुन् ।
मेयर पदमा नेपाली कांग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय १५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।
मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १००८८ मत ल्याएकी छन् । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।