बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसले जितेको वडामा नेकपा एमालेले जितिरहेको छ । पछिल्लो मतगणनाअनुसार अघिल्लो स्थानीयतह चुनावमा कांग्रेसले जितेको १ र २ वडामा हाल नेकपा एमालेले जीत हात पारेको छ ।

नेपाली कांग्रेसले आफ्नो ‘गड’मानेको भेग भनेर चिनिएको साविक बराहक्षेत्र गाविस अन्तर्गतका हालको १ वडामा नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार सुरेश श्रेष्ठलाई हराउँदै नेकपा एमालेका उमेदवार किसन थापा (मगर) विजयी भएका छन् भने २ वडामा कांग्रेसका नारायण नेपाललाई हराउँदै एमालेका उमेदवार होम प्रसास गौतमले अध्यक्ष पदमा जीत हासिल गरेका छन् ।

यता पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका नगरप्रमुख पदका उमेदवार निलम खनाललाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचका साझा उमेदवार रमेश कार्कीले पछी पारेका छन् ।

बराहक्षेत्र १, २, १० र ११ वडाको अहिलेसम्मको मतपरिमाणअनुसार एमालेका उमेदवार खनालले ३ हजार २ सय ३१ मत प्राप्त गर्दा कांग्रेसका कार्कीले ३ हजार ६ सय ८३ मत पाएका छन् । खसेको कुल मतमा हालसम्म ९ हजार ४ सय १५ मतगणना गरिसकिएको छ । जसअन्तर्गत खनाललाई साविक बराहक्षेत्र गाविसबाट अग्रता रहेको छभने कार्कीलाई साविक मधुवन र प्रकाशपुरबाट अग्र मत पाइरहेका छन् । त्यस्तै, उपमेयरतर्फ भने एमालेकी उमेदवार नन्दाकुमारी राई गठबन्धनका उमेदवार अमित गौतम तुलनात्मक रूपमा निकै पछाडि छन् ।