सुनसरीः सुनसरीको १२ मध्ये ८ स्थानीय तहमा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।सुनसरीको ३ स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा जनता समाजवादी पार्टीले अग्रता कायम राखेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा लोकतान्त्रिक बाम गठबन्धनका नगर प्रमुखका नेपाली काँग्रेसबाट उम्मेदवार किशोर राई ५६९० र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघा ६३८८ मत सहित अग्र स्थानमा हुनुहुन्छ । नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले ५००३ तथा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५०८८ मत पाएका छन् ।

धरान उपमहानगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्य ७५७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरे ।

धरान उपमहानगरपालिका–२ मा नेकपा एमालेका रमेश राई वडा अध्यक्षमा विजयी भए ।त्यस्तै धरान–३ मा गठबन्धनबाट नेपाली काँग्रेसका विद्या शाक्य १०८० मत ल्याएर वडा अध्यक्षमा विजयी भए ।

धरान–४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार बिहानको मतगणनाको नतिजा अनुसार वडाध्यक्षमा नेकपा एमालेबाट धनबहादुर राईले ८२६ मत ल्याएर विजयी भए ।

यसैबिच इटहरी उपमहानगरपालिकामा पनि गठबन्धनको प्यानलले अग्रता कायम राखेको छ । इटहरीमा गठबन्धनका नगर प्रमुख उम्मेदवारले अग्रता लिँदा उपमेयरमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

मत गणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ९,३३७ मतले अग्रता लिएका हुन् । एमाले उम्मेदवार याम सुब्बाले उनलाई पच्छ्याई रहेका छन् । उपप्रमुख पदमा एमालेकी सङ्गीता चौधरीले अग्रता लिएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका केशब कुमार विष्टले पच्छ्याई रहेका छन् ।
हरिनगर गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवार गफार अन्सारीले अग्रता कायम राखेका छन् ।

त्यसैगरी इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका केदार भण्डारीले ५९८७ मत सहित अग्रता कायम राखेका छन् भने वहाँलाई एमालेका सरोज पोखरेलले ४८८२ मल सहित पच्छयाईरहेका छन् ।

जिल्लाको कोशी गाउँपालिकामा नेपाली काँग्रेसका ऐयुव अन्सारीको अग्रता कायम रहेको छ । जसपाका देवकृष्ण यादवले पच्छयाईरहेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकामा पनि नेपाली काँग्रेसका अजमल अख्खर अजादले ४ हजार १३ मतका साथ अग्रता कायम राखेका छन् । नेकपा एमालेका महेन्द्रप्रसाद यादवले पच्छयाईरहेका छन् ।

त्यसैगरी सीमावर्ती देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहताले ५५०४ मल सहित अग्रता लिएका छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवार श्यामलाल मेहताले पच्छयाईरहेका छन् ।

दुहबी नगरपालिकाको ताजा परिणाम अनुसार नगर प्रमुख पदका नेकपा एमालेका उम्मेदवार विनय पोख्रेल अगाडी देखिएका छन् । पोख्रेलले ४ हजार ९ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेद नारायण गच्छदारलाई ४ हजार ८ सय ५५ मत प्राप्त भएको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसका मेनुका खतिवडाले ४ हजार ५ सय १५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट सरोज सिंहले २ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।
गढी गाउँपालिका तथा बर्जू गाउँपालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ ।