विराटचोकः स्थानीय तह निर्वाचन अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १,२,११ र १२ को मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणामअनुसार वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेद्वार अगाडि छन् । वडा नम्बर ११ मा झिनो मतान्तरले एमाले अगाडि छ भने वडा नम्बर १२ मा फराकिलो मतान्तरले एमाले अगाडि छ ।

वडा नम्बर १ मा ३२०८ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार रामविश्वास खवासले १६०६ मत ल्याउँदा नेकपा एमालेका इन्द्रप्रसाद भट्टराईले १०९७ मत ल्याएका छन् । वडाका अन्य सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेद्वार अगाडि छन् ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका विवश प्रधानले १२२६ मत ल्याउँदा नेकपा एमालेका झरीलाल थारुले ११९१ मत ल्याएका छन् । २९५० मत गन्दा खुला सदस्य १ जनाबाहेक सबै पदमा नेपाली कांग्रेसका उम्मेद्वार अगाडि छन् ।

त्यस्तै, वडा नम्बर ११ मा नेकपा एमालेका विशनलाल चौधरीले ११५७ मत ल्याउँदा नेपाली कांग्रेसका हरिबहादुर बस्नेतले ११३७ मत ल्याएका छन् । चौधरी निवर्तमान वडाध्यक्ष हुन् । हालसम्म ३०५७ मत गन्दा वडाध्यक्ष र महिला सदस्यबाहेक अरु पदमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।

वडा नम्बर १२ मा एमालेका सबै उम्मेद्वारले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । निवर्तमान वडाध्यक्ष रोशनप्रसाद ढकालले २१३७ मत ल्याउँदा नेपाली कांग्रेसकी सुजू थापाले ५३२ मत ल्याएकी छिन् । बाँकी पदमा पनि एमालेका उम्मेद्वार फराकिलो मतान्तरका साथ अगाडि रहेका छन् ।