इटहरीः संयोग पनि कस्तो, एकै घरमा चार दाजुभाई हालै सम्पन्न स्थानीय निर्वाचनमा होमिएकामा तीन जनाले जित हासिल गरेका छन् भने एक जनाले हार स्वीकारेका छन् ।
ओखलढुँगाका जितेन्द्र रुम्दाली बेलैमा धनकुटा तिर आएर साँगुरीगढी गाउँपालिकामा बसोबास सुरु गरे । दाजुभाई ओखलढुँगामै थिए । चार भाईनै राजनितिमा सक्रिय हुदै गर्दा यसपालिको स्थानीय निर्वाचनमा चारैभाई उम्मेद्वार बनेर चुनाव लडे तर फरक फरक ठाउँबाट ।
धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा जीतेन्द्र रुम्दाली राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली राई र मानेभञ्ज्याङ गाउँपालिका वडा नं १ को अध्यक्षमा राजकुमार रुम्दाली राई र दीपेन्द्र रुम्दाली राई मानेभन्ज्याङ्ग गाउँपालिकाको उपाध्यक्षमा लडेका थिए तर दिपेन्द्र बाहेक अरु तीनै जना विजयी भएका छन् ।
चार भाईमा राजकुमार जेठा हुन् भने जीतेन्द्र साइँला र ज्ञानेन्द्र काइँला हुन्। निर्वाचनमा चार जना दाजुभाइ उम्मेदवार बने पनि कान्छा भाइले चाहिं चुनावमा हार व्यहोरेका छन् । मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्ष पदमा उठेका कान्छा भाइ दीपेन्द्र रुम्दाली राई पराजित भएका हुन भने जितेन्द्र रुम्दाली राई धनकुटाको साँगुरीगढी अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका थिए । ५३९९ मत पाएर जीतेन्द्र रुम्दाली विजयी भए । उनले नेकपा (एमाले) का कुमारजंग याक्खालाई ५७१ मतान्तरले पराजित गरेका हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि रुम्दाली र याक्खाबीच नै प्रतिस्पर्धा हुँदा याक्खाले जितेका थिए। एमालेको गढ मानिने यो गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका लीलाराज लावतीलाई झिनो मतले हराउँदै एमालेकी मुना राई विजयी भएकी छन्।
ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा विजयी भएका ज्ञानेन्द्र रुम्दाली पनि गठबन्धनका उम्मेदवार हुन्। तर, उनले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न धारा पाएका थिए। अघिल्लो संसदीय निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी ‘बागी’ उठेका थिए। तर उनी बागी उठेपछि कांग्रेसका उम्मेदवार पराजित भएका थिए। त्यसपछि पार्टीको कारबाहीमा परेका ज्ञानेन्द्रले यस पटक कांग्रेससँगै गठबन्धन गरेर उम्मेदवारी दिए र ५०२१ मत पाएर बिजय समेत हासिल गरे । ज्ञानेन्द्रले एमालेका रूपलाल तामाङलाई १२०६ मतान्तरले जितेका हुन्।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका आश्रचन राई निर्वाचित भए। उपाध्यक्ष पदमा ज्ञानेन्द्रकै कान्छा भाइ दीपेन्द्र जसपाबाट उम्मेदवार थिए। उनी २१७३ मतले पराजित भए। ओखलढुंगामा एमाले र जनता समाजवादी पार्टीको पनि गठबन्धन थियो।
मानेभञ्ज्याङ गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका राजकुमार रुम्दाली विजयी भए। उनले माओवादी केन्द्रका सुजन रुम्दालीलाई ४३ मतान्तरले पराजित गरे। राजकुमार २०७४ मा पनि वडाध्यक्षमा विजयी भएका थिए। रुम्दालीका पाँच दाजुभाइमध्ये सबै जना राजनीतिमा सक्रिय छन्। राजकुमार, जीतेन्द्र र ज्ञानेन्द्र कांग्रेसमा छन् भने धीरेन्द्र र दीपेन्द्र जसपामा आबद्ध छन्।