विराटनगरः मोरङको वुढीगंगा गाउँपालिकामा वडा नम्बर ४ को १३ मत हराएको भन्दै एमालेका नेता कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।

वडा नम्बर ४ को मत गणना पछि एमालेका उम्मेदवार सागर बराल ११ मतले पराजित भएका थिए । आज बिहान जम्मा मत जोड्दा मतदान अधिकृतले बुझाएको मत अंक र मत गणना भएको तथ्यांकमा १३ मत नपुगेपछि एमालेले पुन मत गणना हुनु पर्ने माग राखेको छ ।

यो वडामा नेपाली काङ्ग्रेसका शशिकान्त चौधरीले ८१९ मत ल्याएर विजयी भएका थिए । बरालले ८०८ मत पाएका थिए । ११ मतले पराजित भएका बराललाई हराउन १३ मत गायब बनाउने काम निर्वाचन अधिकृतको कार्यालयबाट भएको आरोप लागेको छ ।अहिले कार्यालयमा उनिहरूले घेराउ गरेका छन् भने व्यापक प्रहरी परिचालन गरेको छ ।

उनिहरूले पुनः मत गणना हुनु पर्ने माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मत गणनाको सबै प्रक्रिया पुर्याएर मतदान सम्पन्न गरेर परिणाम सार्बजनिक गरिएको अबस्थामा पुनः मत गणना गर्न नसकिने बताए । निर्वाचन अधिकृत मणीराम पोखरेलले पुन मत गणनाको लागि माग भएर निवेदन आएकोले कानुनी प्रक्रियामा जान भनिएको जानकारी दिए ।