बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिकाको १ वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

आज (सोमबार) जारी अन्तिम मतपरिमाण अनुसार अध्यक्ष किसन थापा (मगर)सहितको प्यानलले नेपाली कांग्रेसका उमेदवारलाई हराउँदै विजयी भएको निर्वाचन अधिकृतले जानकारी दिए ।

मतअनुसार नेकपा एमालेका अध्यक्ष पदका उमेदवार किसन थापाले १ हजार २ सय ३८ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेदवार सुरेश श्रेष्ठले १ हजार २० मत ल्याएर पराजित भए ।

त्यस्तै, सदस्यहरुमा कुमार भट्टराई, दिपक राई, अमिना राई र दिलमाया सुर्खेतीले क्रमशः १ हजार १ सय, १ हजार १ सय ३६, १ हजार १ सय १७ र १ हजार १ सय ८९ मत प्राप्त गरि विजयी भएका छन् ।

सो वडामा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरि रंजीत विश्वकर्माको प्यानलले स्वतन्त्र उमेदवारी दिएका थिए । जसअन्तर्गत अध्यक्ष पदका उमेदवार विश्वकर्माले ४ सय ५० मत ल्याएका छन् भने सदस्यहरुतर्फ खुल्ला सदस्य जोडी चिह्नले ३ सय ९२ , खुल्ला सदस्य एकल चिह्नले ४ सय ५८, दलित महिलाले ४ सय ९ र महिला सदस्यले ४ सय २५ मत पाए । त्यस्तै, राप्रपाका अध्यक्ष पदका उमेदवार हर्क बहादुर खड्काले ७३ मत पाएका छन् ।५ हजार ७ सय १५ मतदाता रहेको वडामा ३ हजार ३५ मत खसेको निर्वाचन अधिकृतको भनाइ छ ।

त्यस्तै, १ वडाबाट नगरप्रमुख र उपप्रमुख पदमा समेत नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेका निलम खनालले १ हजार १ सय ४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस माओवादी केन्द्रका साझा उमेदवार रमेश कार्कीले १ हजार ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, श्यामकुमार सुब्बा (राप्रपा) ले १ सय १२, रामबहादुर विष्ट (स्वतन्त्र)ले ३ सय ५६, उत्तम कुमार राई (ढल्केको छाता ) ले ६, पूर्ण हाङ्ग लिम्बु ९(खुकुरी)ले १, राजु अधिकारी (पुतली)ले १, र भोलामान जिमी –हृदय) ले – ४ मत पाएका छन् ।

यता, नगर उपप्रमुखतर्फ एमालेकी नन्दकुमारी राईले १ हजार १ सय ९८ मत पाउँदा गठबन्धनका साझा उमेदवार अमित गौतम गठबन्धनले ४ सय ८९ मत पाएका छन् ।
त्यस्तै, पुनम रसाइली (राप्रपा)ले १ सय ७, लक्ष्मण चौधरी (एकीकृत समाजवादी )ले ४४, रामकुमारी राईले १ मत पाएकी छन् ।