इटहरीः रामधुनी नगरपालिकाको साँझ ८ बजेसम्मको मतगणना अनुसार रामधुनी नगरको वडा नम्बर १, २ र ३ को मत परिणाम अनुसार नेकपा एमालेका मेयर उपमेयरका उम्मेदवार एक हजार भन्दा बढी मतले अगाडी छन् ।
६ हजार ४०० मत गनिसक्दा मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार शंकरलाल चौधरीले ३ हजार २८८ मत पाएका छन् भने नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुदिप अधिकारीले २ हजार २३४ मत पाएका छन् । उपमेयरमा पनि एमालेको अग्रता कायम छ ।
एमालेका तर्फबाट उपमेयरकी उम्मेद्वार तारा थापाले २ हजार ८५२ मत पाउँदा नेपाली कांग्रेसकी उपमयेर उम्मेद्वार आशा चौधरीले २ हजार ९२ मत पाएकी छन् । नेकपा माओवादीका तर्फबाट मेयरका उम्मेदवारले १८६ मत पाएका छन् भने उपमेयर श्याम कुमारी शाहले २६२ मत पाएकी छन् ।
यता नेकपा एकिकृत समाजवादीका मेयर पदका उम्मेदवार सिताराम घिमिरेले ८० मत पाएका छन् भने उपमेयर सीता थरुनीले ३१९ मत पाएकी छन् । यसैगरी मेयरमा राप्रपाका उम्मेदवारले १२७ मत पाएका छन् । हालसम्म ६ हजार ४ सय मत गणना भएको छ भने बाँकी गणना कार्य जारी छ ।