इनरुवाः सुनसरीको आठ पालिकामा ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ ।
दुहवी नगरपालिका १ मा र सीमावर्ती वर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकिकृत समाजवादी, हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेपाली काग्रेंस र भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपा, वडा नम्बर २ मा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । धरानमा १ र ३ नम्बर वटामा काग्रेंस र २ मा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । इटहरी २० मा पनि नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने कोशी गाउँपालिका १ मा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ ।
जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१ नम्बर वडामा राष्टिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता र उनका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।
मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले जानकारी दिए। यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजीत भएका छन् । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित भएका छन् ।
त्यसैगरी सीमावर्ती हरिनगर गाउँपालिका–७ नम्बर वडामा नेकपा ऐकिकृत समाजवादी पार्टीको प्यानल विजयी भएको छ । वडा नं ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उनका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिए । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अंसारी र सईदुरहमान अंसारी निर्वाचित भएका छन् ।
दुहबी नगरपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी भएका छन् । उनका निटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याएका छन् ।
त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काग्रेंसका प्रमोद पोखरेल र उनका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।बर्जु गाउँपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुगंले ९१६ मत ल्याएर विजयी भएका छन् । उनका निटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका मनोज गच्छदारले ६८९ मत ल्याएका छन् ।
जिल्लाको कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उनका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् । यादवले ८७५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए । यस वडामा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मलकुमार मण्डलले ७०९ मत ल्याएर पराजीत भएका छन् । सदस्यहरूमा जसपाकै खुल्ला सदस्य निधिर मण्डल र भुपेन्द्र उराँव, महिला सदस्यमा निर्मला कुमारी मण्डल र दलित महिला सदस्यमा सतनीदेवी सदा निर्वाचित भएका छन् ।
उता भोक्राहा नरसिंह वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार आलम अन्सारी विजयी भएका छन् ।त्यसैगरी धरान उपमहानगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्यले ७५७ मत प्राप्त गरेर विजयी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका छन् । यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा रहिसा कसजुले ८८९ मत, दलित महिला सदस्य रिता सुन्दासले ८६०, खुल्ला सदस्य तर्फ विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६ मत प्राप्त गरेर विजयी भएका छन् ।
धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई वडा अध्यक्षमा विजयी भएका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा २ मा एमालेबाट वडाध्यक्ष राईले ७४८ मत ल्याएर विजयी हुनुभएको छ भने कांग्रेसका उम्मेद्वार सुधीरसिंह लिम्बूले ६२७ मत पाएका छन् । एमालेबाट सदस्यमा विजयी समीर राई, दलित महिला सदस्यमा कांग्रेसका बुनु शंकर, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठ र दिनेश अग्रवाल विजयी भएका छन् ।
त्यस्तै धरान–३ गठबन्धनबाट नेपाली काँग्रेसका विद्या शाक्यले १०८० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका छन् । यस वडामा महिला सदस्यमा उषा सुब्बा श्रेष्ठले १०४२, दलित महिला सदस्यमा शोभा विकले ५७५, खुल्ला वडा सदस्यमा मनिष खड्गीले ११०६ र मिङ्मा भोटे शेर्पाले ९९९ मत प्राप्त गरेर विजयी भएका छन् । उता हरिनगर गाउँपालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महमद तैयव अंसारी विजयी भएका छन् ।