बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीयतह निर्वाचन २०७९ को पछिल्लो गणना अनुसार नेकपा एमालेका उमेदवारहरुले अग्रता लिइरहेका छन् ।
वडा १ बाट सुरु गरिएको पछिल्लो १ हजार ७ सय गणनामा नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उमेदवार बनेका निलम खनालले ६ सय ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनका साझा उमेदवार रमेश कार्कीले भने ५ सय ७२ मतमा चित्त बुझाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उमेदवार श्याम कुमार सुब्बाले ५९ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार राम बहादुर बिष्टले १ सय ९५ मत पाएको निर्वाचन आयोगले जानकारी दिएको हो । अन्य हृदय चुनाव चिन्ह गरेका उमेदवार भोलमान जिमी र दापसहितको खुकुरी चुनाव चिन्हका उमेदवारले समान २ मत पाउँदै गर्दा ढल्केको छाता चुनाव चिन्हको उमेदवारले ३ मत पाएका छन् ।
त्यस्तै, नगर उपप्रमुखतर्फ एमालेकी नन्दाकुमारी राईले ७ सय ११ मत पाएकी छन् भने गठबन्धनका उमेदवार अमित गौतमले २ सय ५६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
राप्रपाकी उपमेयर उमेदवार पुनम विश्वकर्माले ५७ मत पाएकी छन् भने नेकपा (एकीकृत समाजवादी)का उमेदवार लक्ष्मण चौधरीले १३ मत र, संघीय लिम्बुवान मञ्चकी उमेदवारले १ मत प्राप्त गरिन् ।
वडाअध्यक्षतर्फ भने नेकपा एमालेका १ वडा अध्यक्ष पदका उमेदवार किसन थापाले ७ सय ३२ मत ल्याउँदा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले ५ सय ४४ मत प्राप्त गरेका छन् । स्वतन्त्र रूपमा उम्मेद्बारी दिएका रंजीत विश्वकर्माले २ सय ४१ मत ल्याउँदा राप्रपाका उमेदवार हर्क बहादुर खड्काले ३७ मतमा चित्त बुझाएका छन् ।