धरानः धरान उपमहानगरपालिकाको हालसम्मको मत परिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता कायम राखेका छन् भने नेकपा एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी स्वतन्त्र उम्मेदवार भन्दा पछाडी छिन् ।

धरान १ को मत गणना सकिएको छ भने २ र ३ को मत गणना भइरहेको छ । अहिलेसम्मको ताजा परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार किशोर राईले १ हजार ३ सय ४० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्गले ९ सय २२ मत पाएका छन् ।

नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीलाई भने हर्कले उछिनेका छन् । भण्डारीको ७०६ मत आएको छ । उता उपमेयर पदकालागि पनि गठबन्धनको अग्रता कायम छ । गठबन्धनका तर्फबाट नेकपा माओवादीका उपमेयर उम्मेदवार अइन्द्र विक्रम बेघाले १ हजार ४ सय ३९ मत ल्याएका छन् भने नेकपा एमालेका पदम इश्वोले ८४४ मत पाएका छन् । यो मत परिणाम ३५ सय मत गणना भइसक्दाको हो ।