बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा नगरप्रमुख पदका उमेदवार रमेश कार्कीले सुरुवाती अग्रता लिएका छन् ।
सुरुवाती ३ सय मत गन्दा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको संयुक्त गठबन्धनका साझा उमेदवार कार्की १सय २४ मत प्राप्त गर्दै अगाडी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार निलम खनालले १ सय १२ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार श्याम कुमार लिम्बू (सुब्बा)ले १८ मत ल्याउँदा स्वतन्त्र उमेदवार राम बहादुर बिष्टले भने २६ मत पाएका छन् । अन्य स्वतन्त्र उमेदवारहरुले भने खाता खोल्न सकेका छैनन् ।
उपप्रमुखतर्फ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता अमित गौतमले ५३ मत पाएका छन् भने नेकपा एमालेकी उमेदवार नन्दा कुमारी राईले १ सय १९ मत पाएकी छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का उमेदवार लक्ष्मण चौधरीले २ मत पाउँदा राप्रपाकी पुनम रसाइली (विश्वकर्मा)ले १४ मत पाइन् ।
११ वटा रहेको बराहक्षेत्र नगरमा वडा १ बाट मत गणना थालिएको छ भने मतगणना बराहक्षेत्र ६ स्थित चक्रघट्तीमा भइरहेको छ । जसअन्तर्गत वडा १ का नेपाली कांग्रेसका उमेदवार सुरेश श्रेष्ठले १ सय १७ मत ल्याएका छन् भने नेकपा एमालेका किसन थापाले १ सय ३० मत ल्याएको आयोगले जनाएको छ । त्यस्तै, स्वतन्त्र उम्मेद्बारी दिएका रंजीत विश्वकर्माले ३६ मत प्राप्त गरेका छन् भने राप्रपाका उमेदवार हर्क बहादुर खड्काले ९ मत ल्याएका छन् ।