इटहरीः सुक्रबार बिहान सात बजेदेखि सुरू भएको स्थानीय तह निर्वाचनमा राम्रै मत खस्यो । कही कुन पार्टी र कही कुन पार्टी आक्रामक बन्दा देशका विभिन्न ठाउँमा झडप र हुलदुगाँहरु पनि भएका छन् ।

निर्वाचन आयोगले जनाए अनुसार छिटफुट बाहेक सबै ठाउँमा शान्तिपुर्ण रुपमै मतदान भएको छ ।निर्वाचन आयोगका प्रवत्ताले दिएको जानकारी अनुसार दोलखा, रामेछाप, सर्लाही, पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवाद भएकाले मतदान स्थगीत भएको छ भने बाँकी स्थानमा मतदान स्थगीत हुनेगरी कुनै घटना भएनन् ।

प्रहरीका अनुसार देशका विभिन्न २ दर्जन स्थानमा झडपका घटना भएका छन्। करिब १ दर्जन ठाउँमा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको थियो ।
नेपाल प्रहरीले बताए अनुसार हुम्लाको अदानचुली, तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्र र चंखेली मा अवरोध भएको छ त्यसैगरी ओखलढुंगा चम्पादेवी गाउँपालिका–९ को मतदान केन्द्रमा झडप भएको छ भने रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि र खाँडादेवी गाउँपालिकास्थित वडा नम्बर १ पनि झडप भएको छ ।

उता गोरखाको घ्याल्चोक र सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र र कौडन्यामा पनि झडपको स्थिती सिर्जना भएको थियो । बाजुराको बुढीनन्दा नगरपालिका साथै दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली–६, बाराको पचरौती– २ र देवताल गाउँपालिका, सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र साथैमा पनि झडप भएको थियो ।

दोलखाको वैतेश्वर गाउँपालिकास्थित कालिढुंगा र मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्र र मोरङको लेटाङमा झडप भयो भने बाँकी स्थानमा सामान्य तवरबाट मतदान भएको छ ।