इटहरीः इटहरी उपमहानगरपालिकाका २५ वटै मतदान केन्द्रमा बिहान ७ बजेबाटै शान्तिपूर्ण तवरबाट मतदान भईरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्का अनुसार मतदाताहरुले निर्धक्क भएर शान्तिपूर्ण वातावरणमा मतदान गरिरहेको जानकारी दिए ।

उनका अनुसार इटहरीको सबै मतदान केन्द्र र बुधमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । अनुमति नलिई गुडेका सवारी साधनहरुलाई नियन्त्रणमा लिने काम पनि प्रहरीले गरिरहेको उनले जानकारी दिए ।

कतिपय मतदान केन्द्रमा मतदाताहरु बिहान ३ बजेबाटै लाइनमा बसेको पाइएको छ । मतदाताहरु आफुलाई मनपरेका उम्मेदवारलाई मतदान गर्न उत्साहित रुपमा बिहानैबाट सहभागी भएको पाइएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को इटहरी उपमहानगरपालिका कार्यालय परिसर, वडा नम्बर ५ को सानो जनता माध्यामिक विद्यालय, वडा नम्बर ९ को ठूलो जनता माध्यामिक विद्यालय, वडा नम्बर ५ को ज्योति माध्यामिक विद्यालय लगायतका मतदान केन्द्रमा बिहानैबाट मतदाताहरु उत्साहित रुपमा लाइनमा बसेका थिए ।

वडा नम्बर ५ को ज्योति माविको मुलगेटमा एमालेका केही युवाहरु बसेर मतदाताहरुलाई भ्रम सृजना हुने गरि मतदान यसरी गर्नु है भन्दै गरेको पाइएपछि केही बेर विवाद समेत भएको थियो । मतदाताहरु प्रवेश गर्ने मुल गेटमै एमालेका केही युवाहरु बसेर मतदान गर्न सिकाएको पाएकाले आफुले तत्काल आपत्ति जनाएको सो वडाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गठबन्धनका जीवन न्यौपानेले बताए । प्रशासनलाई यस बिषयमा जानकारी दिएपछि सो स्थानबाट ती युवाहरुलाई हटाइएको उनले जनाए । 

इटहरी वडा नम्बर २०, १, २, ३ , १६, लगायत सबै मतदान केन्द्रहरुमा विहानैबाट मतदाताहरु मतदान केन्द्रमा छाता ओडेर भएपनि लाइनमा बसेका छन् । इटहरीको उपमहानगरपालिका परिसर र ज्योति माविको मतदान केन्द्रमा मतदाताहरुले जेष्ठ नागरिक, अशसक्त र विरामीहरुलाई पहिलो प्राथमिकतामा नराखेको भन्दै शुरु विरोध गरेका थिए । पछि प्रशासनले सोको व्यवस्थापन गरेको थियो ।