धनकुटाः धनकुटामा नेकपा एमालेका प्रदेश सांसद इन्द्रमणी पराजुली पक्राउ परेको भनेर गलत हल्ला फैलाइएको छ । निर्वाचनको मौन अवधि चलिरहेका बेला केही अनलाइन मिडियादेखि सामाजिक सञ्जालमा प्रहरीले सांसद पराजुलीलाई पक्राउ गरेको भनेर गलत हल्ला फैलाइएको हो ।

सामाजिक सञ्जालमा गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी लगायत दलका नेता कार्यकर्ताले यो बिषयलाई सेयर गरिरहेका छन् । यो बिषयमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले सांसद पराजुली पक्राउ परेको हल्लामा कुनै सत्यता नरहेको बताए । ‘सामाजिक सञ्जालमा मान्छेले जे पनि लेख्दा रहेछन,’ एसपी अधिकारीले भने, ‘यो हल्लामा कुनै सत्यता छैन, यो गलत कुरा हो ।’ 

तर स्थानीयले भने पराजुलीलाई निर्वाचन आचारसंहिता विपरित कार्य गरेकाले प्रहरीको टोलीले नियन्त्रण लिएको साँचो भएको दावी गरेका छन् । 

यता, धनकुटा बजारमा रहेका सांसद पराजुलीले आफु पक्राउ परेको भन्ने हल्ला सुन्दा आश्चर्य लागेको बताए । उनले चुनावका बेला पराजित मानसिकताले गलत अफवाह फैलाइएको भन्दै आपत्ती जनाएका छन् ।