इटहरीः आसन्न स्थानीय निकायको निर्वाचनलाई प्रभावित पार्ने गरी मोरङको मिक्लाजुङमा स्थानीय तह निर्वाचनको सम्मुखमा बुधबार राति विष्फोटको आवाज सुनिएको छ ।
मिक्लाजुङ गाउँपालिका १ को सरस्वती आधारभूत विद्यालयको आसपासको क्षेत्रमा विष्फोटको ठूलो आवाज सुनिएको थियो तर अहिले सम्म कुन स्थानमा विष्फोट भएको भन्ने खुल्न सकको छैन ।
रातीको घटनाबाट पत्ता नलाग्दै मिक्लाजुङ–१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा ‘खतरा’ लेखेको प्रेसर कुकर फेला परेको प्रहरीले बताएको छ । तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको मोरङ प्रहरीले पुष्टि गरेको छ ।
कुकर भेटिएको सडकमा दुईवटा बाँस पनि तेर्साइएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर प्रहरीले घटनास्थलाई सुरक्षित राखेको छ भने सेनाको टोली घटना स्थलमा जाँदै गरेको बताइएको छ ।
सडकमा शंकास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल मिक्लाजुङको रमितेबाट करिब १२ किलोमिटर पूर्वतर्फ तथा उर्लाबारीबाट ३२ किलोमिटर उत्तरमा पर्छ।