इटहरीः स्थानीय निर्वाचन २०७९ को लागि मौन अवधिमा आर्थिक प्रलोभन देखाएर मतदातालाई प्रभावित पारेको भन्दै देशका विभिन्न स्थानमा सांसद सहित नेकपा एमालेका उम्मेदवारहरु पक्राउ गरेका छन् ।
मौन अवधिमा आचारसंहिता विपरित मतदाता प्रभावित गर्ने काम गरेको भन्दै प्रहरीले प्रदेश एकका सांसद इन्द्रमणि पराजुलीलाई धनकुटाबाट पक्राउन गरेको छ । मौन अवधिमा निर्वाचन आचारसंहिता विपरित कामगर्ने पराजुलीलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।
स्थानीयले पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले पराजुलीलाई नियन्त्रणमा लिएको बिषयमा सूचना बाहिर ल्याउन चाहेको छैन् । धनकुटा प्रहरीको एक स्रोतले पराजुली सहित केहीलाई सुरक्षाका लागि प्रहरी कार्यालय ल्याएर राती नै घर पठाइएको बताएको छ । नेकपा एमाले धनकुटाले भने पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने बिषय निराधार भएको दावी गरेको छ ।
त्यसैगरी इलामको सन्दकपुर पाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवार बनेका स्थानीयबासीको नियन्त्रणमा परेका छन् । बुधबार राती सन्दकपुरको वडा नम्बर ५ जमुनामा पुगेका राईलाई आर्थिक चलखेल गर्न लागेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । राईसँगै वडा सदस्य पदकी उम्मेदवार सिता कार्कीलाई पनि स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । पछि सुरक्षाको कारण देखाउँदै सशस्त्र प्रहरीवलले दुवै उम्मेदवारलाई आफ्नो कव्जामा लिएको छ ।
यता मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा सुर्खेतमा नेकपा एमालेबाटै वडा अध्यक्षका उम्मेदवार बनेका राजन विसी प्रहरी नियन्त्रण परेका छन् । विसी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्ष पदका उम्मेदवार हुन् । वडाको एउटा बस्तीमा पैसा बाड्दै गरेको सुचना पाएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको छ । छापा मार्दा १ लाख रुपैया नगद समेत फेला परेको प्रहरीको भनाई छ ।
यसैगरी नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका उम्मेदवार यमबहादुर कार्की गम्भिर घाइते भएका छन् । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेका कार्कीलाई नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको प्रहरीले बताएको छ । आक्रमणमा परेका कार्कीको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।