फिक्कलः इलामको सूर्योदय नगरपालिकामा गठबन्धन दलको बृहत चुनावी सभा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज गठबन्धनमा रहेका दल नेपाली काग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्रले संयुक्त चुनावी सभा सम्पन्न गरेको हो ।

चुनावी सभामा सूर्योदय नगरपालिकाका १४ वटै वडाबाट तीनै दलका कार्यकर्ता सहभागी भएका थिए । हजारौको संख्यामा भेला भएका नेता कार्यकर्ता सहित फिक्कलबाट रयाली सहित कन्यामको डुडेगैरा पुगेका थिए । कार्यक्रममा अधिकांश नेकपा एसका कार्यकर्ता सहभागी थिए ।

नेपाली काग्रेस सूर्योदय नगर सभापति जिवन कुमार नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, केपाली काग्रेस इलामका सभापति डम्बर खड्का, माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ र गठबन्धनबाट मेयरका उम्मेद्धवार रणबहादुर राई र उप मेयरका उम्मेद्धवार दुर्गा बरालले सम्बोधन गरेका थिए ।

माओवादी केन्द्रका प्रविन तिम्सिनाले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा बिभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेकपा एसका सम्मानित नेता खनालले देशलाई जोगाउनका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले संबिधान नै मास्ने केपी ओलीको सड्यन्त्रको बिरुद्ध गठबन्धन भएकाले सबैले गठबन्धनमा मतदान गर्नु पर्ने बताए ।

कार्यक्रममा काग्रेस सभापति खड्काले अहिलेको आवश्यक्ता गठबन्धन भएकाले अलमल नगरीकन गठबन्धनका उम्मेद्धवारलाई मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए । यस्तै नेकपा माओवादी केन्द्रका तामाङले देशै भर गठबन्धनको माओल बनेको अवस्थामा सूर्योदयमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रह गरे ।

मेयरका उम्मेदवार रणबहादुर राईले आगामी ५ बर्षको स्पष्ट भिजन प्रस्तुत गर्दै गठबन्धनमा मतदान गर्न आग्रह गरे । उनले बिगतमा गर्दा गर्दै वाँकी रहेका काम आगामी ५ बर्षमा पुरा गर्ने र सूर्योदयलाई समृद्ध बनाउन सधै जनताको माझमा रहेर काम गर्ने प्रतिवद्धता जनाए । उपमेयरका उम्मेद्धवार दुर्गा बरालले गठबन्धनको बिरुद्धमा बिपक्षी दलले षड्यन्त्र गर्न खोजेकाले कार्यकर्तालाई भ्रमको पछि नलाग्न आग्रह गरे ।

उनले नगरको बिकासका लागि आफुहरु प्रष्ट भिजन सहित काम गर्ने भएकाले गठबन्धनमा मतदान गर्न आग्रह गरे । कार्यक्रमका सभापति जिवन नेपालले गठबन्धनका बिषयमा भ्रम फैलाउन खोजीए पनि गठबन्धन प्रति सबै दल प्रतिवद्ध रहेको बताए । उक्त कार्यक्रममा गायक यम बराल, तुलसी क्षेत्री लगायतले गीत तथा अपर्णा राई सहितका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।