चुनावी सरगर्मी ह्वात्तै बढेको छ । ढिलो निर्वाचन मिति घोषणा भएर छिटोछिटो मतदान गर्ने दिन नजिकिएको भान निर्वाचनका लागि दौडधुप गर्नेहरुले गरेका छन् । कतिपयले प्रचारप्रचार गर्ने समय नै कम भएको महसुस पनि गर्दैछन् । आज मध्यरातबाट मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु हुने भनेको चुनावको नारा र नमस्कारहरु केही समयको लागि कुना पस्नु पनि हो । भलै ती नमस्कारहरु मतदानको दिन केही आउनेछन् अनि जीत होस् या हार अहिले जति देखिँदैनन् नमस्कार ।

स्थानीय निर्वाचनको सरगर्मीको कुरा गरिरहँदा एक पटक प्रदेश एकको शहर इटहरीको निर्वाचन निकै रोचक बनेको छ यसपटक । देशव्यापी चुनावी तालमेल गर्ने क्रममा इटहरी उपमहानगरमा पनि चुनावकै लागि लोकतान्त्रिक बाम गठबन्धन बनेको छ । लोकतान्त्रिक बाम गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्र्टी र नेकपा एकीकृत समाजवादी छन् भने इटहरीमा लामो समयदेखि सत्तामा बसेको नेकपा एमाले अर्कोतिर छ । इटहरीमा राप्रपाको पनि राम्रो मत देखिन्छ । उपमहानगर भएकाले पनि धेरै सम्भावनाहरु देखेरै हुनुपर्छ मेयर पदका लागि इटहरीमा १७ जनाले प्रतिस्पर्धा गर्दैछन् । स्वतन्त्र उम्मेद्वारहरु पनि निकै छन् तथापि दलहरुको दलदलमा फसेको नेपालको निर्वाचन प्रणालीमा स्वतन्त्रहरुको जीत विरलै हुने गरेको छ । भन्न त गाह्रो हुन्छ तर उनीहरुले कतिपय बेला समर्थक नै पाउन पनि निकै गाह्रो छ ।

इतिहास हेर्ने हो भने इटहरी निर्वाचनमा खास त नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिस्पर्धा हुने गरेको छ । तर नेपाली कांग्रेस गठबन्धनमा सामेल भएकाले यसपाला नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने आँकलन गरिन्छ । खास त नेकपा एमालेले ३० वर्षदेखि इटहरीमा जितिरहेको भएरै पनि आफ्नो सङ्गठन बलियो भएको सार्वजनिक अभिव्यक्ति आइरहेका छन् । मेयरको रुपमा उसले आफ्नै नगर कमिटीका अध्यक्ष यामकुमार सुब्बालाई अघि सारेको छ भने उपमेयरमा संगीताकुमारी चौधरीलाई अघि सारेको छ । प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसले अन्य तीन दलसँग तालमेल गरेको हुनाले मेयरमा हेमकर्ण पौडेललाई प्रतिस्पर्धामा उतारेको छ भने उपमयेरको भाग नेकपा एकीकृत समाजवादीले पाएको छ । पहिले मेयरमा प्रतिस्पर्धा गर्ने चर्चा गरिएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट इटहरी उपमहानगरपालिकाको उपमेयरमा चुनावी मैदानमा आएका छन् ।

उपमेयरको रुपमा केशव कुमार विष्ट आएको हेर्न नचाहनेहरु पनि छन् । कोही मेयर र उपमेयरको तालमेल नमिल्ने हो कि भन्ने शंकामा पनि छन् । जे होस् तालमेल मिल्ने या नमिल्ने उनीहरुले जीत हासिल गरेपछिको कुरा हो । तथापि हेमकर्ण पौडेलले चुनावी सभाहरुमा बारम्बार भन्ने गरेका छन् केशवकुमार विष्टजस्तो व्यक्तित्व उपमेयरको रुपमा इटहरीले पाउनु इटहरीको अहोभाग्य हो भनेर । अनि बिष्टले ‘हेमकर्णलाई सफल बनाउनका लागि मेरो अनुभवले सघाउनेछु’ भन्ने गरेको छन् ।
इटहरीका भूमिपुत्र एवम् इटहरीमै जन्मिएर हुर्किएका बिष्ट केन्द्रीय राजनीतिमा पुगिसकेको हुनाले उनी भोलि आउँदै गरको संघीय चुनावमा भिडेर सांसद हुन सक्थे अनि मन्त्रीको लागि योग्य बन्न सक्थे ।

279038246_108939218479459_8757634006132791638_n

एक पटक राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव समेत भइसकेको हुनाले उनलाई प्रशासनको मिठो अनुभव पनि छ । फेरी उपल्लो तहमा काम गरेका व्यक्ति इटहरी उपमहानगरमा किन त ? सञ्चारकर्र्मीहरुको प्रश्नमा बिष्टले भनेअनुसार अब आफ्नो अनुभव र विकासको चाहनालाई आफ्नै माटोमा किन सदुपयोग नगर्ने भनेरै हो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदाका बखत बिष्टले खेलकुदका क्षेत्रमा निकै प्रशंसायोग्य काम गरेका छन् ।

पोखरा, दाङ, बुटवलमा उच्चस्तरीय रंगशालाहरु बनेका छन् । इटहरीले जन्माएको भएकैले पनि इटहरी रंगशालाको निर्माण उनै बिष्ट सदस्य सचिव भएको बेला बजेट विनियोजन गरेर भएको हो । खेलाडीलाई सम्मान दिनुपर्छ हरेक अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी भएको खेलाडी सम्मानको लायक हुन्छ । उसले देशलाई चिनाउन विदेशमा गएर प्रतिष्पर्धा गर्छ उसलाई सम्मान गर्न सकेन भने भोलिको पुस्ता खेलक्षेत्रमा आउन चाहँदैन भन्ने भनाइको विकास उनै विष्ट सदस्य सचिव बनेको बेलाबाट देशमा शुरु भएको हो ।
धेरैभन्दा धेरै प्रतियोगिताहरु गराउने, खेल खेल्नेहरुले त्यसैबाट जीवन निर्वाह गर्ने अवस्थाको सिर्जना गर्नुपर्छ भन्नेजस्ता नारा बोकेका विष्टले इटहरीलाई स्पोर्टस सिटीको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन समेतको प्रतिवेदन इटहरी सरकारलाई बुझाएका थिए तर सरकारले त्यो चाहेन । कतै फ्याँकिदियो या कतै धमिराले खाँदै छ ।

अघिल्लो महिना इटहरीमा गोल्डकप फुटवल प्रतियोगिता सञ्चालन भयो । त्यतिबेला दर्शकहरुले अन्तर्राष्ट्रिय स्तरको प्यारापिटमा बसेर इटहरीमै फुटबल हेर्ने मौका पाए । इटहरीको राष्ट्रिय जागृति क्लबले सोही रंगशाला निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै रंगशालामै बिष्टलाई सम्मान समेत गर्यो । इटहरीलाई त्यो मौका दिने उनै विष्ट हुन जो पुनः म इटहरीको छोरो हुँ अवसर दिए इटहरीलाई खेलमय शहर बनाउँछु र हरेक दुई बर्षमा इटहरीमा ओलम्पिक आयोजना गरेर खेलप्रेमीहरुलाई खेलमा जीवन देखाउँछु भन्दै आउँदैछन् ।

कतिपय इटहरीका सज्जन र बुझक्कडहरु इटहरी रंगशालाकै गुन तिर्न पनि इटहरीवासीले एक पटक बिष्टलाई इटहरी उपमहानगरमा जिताउनु पर्छ भन्दैछन् । अर्काथरी लाल बुझक्कडहरु छन् जो केशव विष्टले राखेपमा हँँुदा भ्रष्टाचार गर्यो निर्वाचनको भोलिपल्ट जेल हाल्छु भनेर कुर्लिँदैछन् । कुर्लिनुभन्दा पहिला आरोप प्रमाणित गर्ने आधारहरु उनीहरुसँग छैन । बोल्नुभन्दा पहिले म के बोल्दैछु र म कहाँ बोल्दै छु भन्ने पनि थाहा छैन । होला, उनैलाई विश्वास गर्नेले बिना अध्ययन पत्याइहाल्ने आधार पनि छ छैनन् । लेखकको नजरमा उनी निडर छन् । आत्मविश्वासी छन् र विकासका भिजन बोकेर हिँडेका व्यक्ति हुन् ।

हामीलाई भोट हाल्ने दिन बारम्बार आउँदैन त्यो पाँच वर्षमा एक पटक आउँछ जसले स्थानीय तहमा आफ्नो पालिकामा कस्तो जनप्रतिनिधि चुन्ने भन्ने अधिकार हामीलाई अर्थात् जनतालाई दिएको छ । तपाईँ, हामीले हालेको मतले कोही जित्दैछ र कोही हार्दैछ । भोट हाल्दै गर्दा कसलाई हाल्दैछु र किन हाल्दैछु भन्ने बुझ्नु अति जरुरी छ ।

एक जुगमा एक दिन आएको त्यो समयलाई सदुपयोग गरेर बिष्टलाई इटहरी उपमहानगरमा ल्याउनु इटहरीवासीको आजको आवश्यकता हो र उनीप्रति इटहरीले दिने सम्मान पनि हो । यदि उनले अपेक्षाअनुरुप काम गरेनन् भने कहाँ गयो तिम्रो प्रतिबद्धता भनेर प्रश्न गर्ने अधिकार नागरिकलाई छ । त्यो सक्षम र सवल नागरिकको भूमिका निर्वाह गर्नु पनि तपाईँको कर्तव्य हो । एउटा युगले खोजेको विकासप्रेमी र निडर नेतृत्वलाई चुनेर हामी र हाम्रा सन्ततिको भविष्यलाई समेत उज्यालो बनाउन सक्छौँ बाँकी तपाईँ मतदाताको विचार, मतदान तपाईको अधिकार ।

280209471_541980463993262_8570324629117567347_n