इटहरीः आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधी शुरु हुँदैछ । मौन अवधी शुरु भएपछि उम्मेदवारहरुको चुनावी प्रचार प्रसार लगायतका कार्यक्रम गर्न निर्वाचन आचारसंहिताले निषेध गरेको छ ।

मौन अवधीमा प्रचार प्रसार लगाायतका गतिविधि गरे एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी खारेज सम्मकोे कारबाही निर्वाचन आयोगले गर्न सक्ने कार्यविधि छ । मौन अवधी सुरु भएसँगै निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन् ।

मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगको भनाई छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा टोली परिचालित हुने निर्वाचन आयोगको भनाई छ ।

यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा रहेको संयन्त्रले कारबाही गर्न वा कारवाही सिफारिस गर्न सक्ने बताईएको छ ।