इटहरीः सांसद कल्पना चौधरी(गच्छदार)ले इटहरीमा एमालेले ३२ बर्ष सत्ता चलाएर ३२ वटा काम पनि नगरेको आरोप लगाएकी छिन् ।
सोमबार इटहरीमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी आमसभाका बोल्दै चौधरीले एमालेको नेतृत्वको स्थानीय सरकार पाँच वर्ष झगडा गर्दै बिताएको आरोप समेत लगाइन् ।
हजारौँको संख्यामा उपस्थित थारु समुदायलाई थारु भाषामै सम्बोधन गर्दै गच्छादारले द्धारिक लाल चौधरी थारुको मेयर नभई एमालेको मेयर मात्रै भएको र थारुको नाममा सिन्को समेत नभाँचेको बताइन् । द्धारिकलालले एउटा थारु संग्राहालय समेत बनाउन नसकेको बताउँदै लोकतान्त्रिक गठबन्धनले थारु समुदायको लागि पहिलो प्राथमिकता राखेर संकल्पपत्रमै खुलाएको बताइन् ।
आफुलाई लोकप्रिय मान्ने द्धारिकलालले गठबन्धनमा उपमेयर उम्मेदवार केशव कुमार विष्टलाई भ्रष्ट्राचारीको निराधार आरोप लगाउँदै हिडेको भन्दै गच्छादारले मेयरको टिकट पाए १० करोड खर्च गर्छु भन्दै हिड्ने द्धारिकलालसँग त्यत्रो पैसा कहाँबाट आएको हो भनेर प्रश्न समेत गरिन् ।
कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट इटहरी उपमहानगरका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले देशभत्त इटहरीबासीको साथले गठबन्धनले जित्ने अपेक्षा व्यक्त गरे । आफुहरुको जित पछि इटहरीका संचारमाध्यमले बाढीले इटहरीबासी घरवार बिहिन भएको समाचार लेख्न नपर्ने बताए ।
प्रतिस्पधी नेकपा एमालेप्रति विश्वास गर्नेलाई केही नभन्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै पौडेलले एमालेको नेतृत्व मात्रै बैइमान रहेको बताए । उनले सम्पुर्ण कार्यकर्तालाई इमानदारीता पुर्वक गठबन्धनका पक्षमा उभिन र ढुक्क भएर साझा उम्मेदवारलाई मत हाल्न र गठबन्धन हार्नुलाई संविधानलाई कागजको खोस्टोजत्तिकै सम्झिनेहरुले जित्ने भएकाले संवेनदशिल बन्न इटहरीबासी मतदातालाई पौडेलले आग्रह गरे ।गठबन्धनले थारुका समस्यालाई गुरु योजना बनाएर सम्बोधन गर्ने बताउँदै उनले बजारमा विपक्षीहरुले बिभिन्न प्रकारका हल्ला फिजाएकोले त्यसमा नलाग्न अनुरोध गर्दै गठबन्धनमा कुनै प्रकारको फाटो नआएको स्पष्ट पारे ।
उपमेयरका उम्मेदवार केशव कुमार विष्टलाई देखाउँदै इटहरी बासिले सांसद तथा मन्त्री बन्ने प्रोफायलको व्यक्ति उपमेयरको उम्मेदवार बनेर आएको बताउँदै पौडेलले यो इटहरी बासीको लागि खुसिको कुरा भएको बताए । उपमेयरका उम्मेदवार केशव कुमार विष्टले हेमकर्ण नेतृत्वको इटहरी सरकार बनेपछि त्यसलाई सफल पार्न आफ्नो अनुभव पोख्ने बताए । उनले आफुलाई इटहरी र गठबन्धन प्यारो लाग्ने किस्सा सुनाउँदै १५ बर्षमा इटहरीलाई मुलुकको तेस्रो उत्कृष्ट शहरको रुपमा विकास गर्ने आफ्नो योजना समेत सुनाए । बुढि खोला तटबन्धको समस्या इटहरीको समस्या भएकाले यसै आगमी बजेटमा त्यसको सुनुवाई हुने गरी बजेट निकासा गर्न संघिय सरकारमा आफुले दवाव दिने विष्टले उद्घोष समेत गरे ।