इटहरीः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका युवालाई आफुहरुले निर्वाचनमा दुई तिहाई मत दिएको सरकार कहाँ छ भनेर पार्टीलाई सोध्न आग्रह गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनले सोमबार इटहरीमा आयोजना गरेको वृहत चुनावी आमसभालाई सम्बोधन गर्दै शर्माले कानले सुनेर मात्रै होइन्, आँखाले देख्ने गरी विकास चाहाने हो भने गठबन्धनका उम्मेद्वारलाई जिताउनुको विकल्प नरहेको कांगे्रस महामन्त्री शर्माले बताए ।

मत दिनु भनेको मन दिनु पनि भएकाले पहिलो पटक मत दिने युवाहरुले इटहरीमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई मत हाल्नुपर्ने उनले बताए ।उनले अहिलेको गठबन्धन एक–एक किलोको ढक नभएर एक–एक तोलाको भएको प्रतिक्रिया दिएका छन् ।

उनले केही समयअघि काठमाडौँमा सब्जीमण्डीको उद्घाटन गर्ने क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले क्विन्टलको ढक हो, गठबन्धन एक–एक किलाका ढक हुन्’ भनेर गरेको टिप्पणीको उत्तरस्वरुप अहिलेको गठबन्धन एमाले अध्यक्ष ओलीले भनेको जस्तो किलोमा नभएर तोलामा जोख्ने सुनको अवस्थामा पुगेको बताए ।

एउटा झापालीले भनेको कुरामा अर्को झापालीले जवाफ नदिई हुँदैन भन्दै उनले भने ‘उहाँले भनेजस्तै उहाँहरु क्विन्टल नै हो । हामी एक–एक किलोको ढक नभएर केवल एक–एक तोला मात्रै हौँ । तर बजारमा गएर सोध्यो भने, एक–एक तोलाको पाँच वटा सुनको सिक्काको मुल्य र एक क्विन्टल आलुको मुल्यवीच कति फरक होला ?’ यहीबाट एमालेको हैसियत कति छ भनेर आँकलन गर्न सकिने उनको तर्क छ ।

अहिले २०७४ सालको स्थानीय तह निर्वाचनमा होमिएको एमालेले अघिल्लो निर्वाचनमा २९३ सिट जित्दा कांग्रेसले २४६ सिट जितेको स्मरण गराउँदै शर्माले कांग्रेस र गठबन्धन कमजोर हुनेगरी केपी ओलीले दिएको अभिव्यक्ति फितलो रहेको बताए ।

केपी ओलीको संविधानविपरीत गतिविधिका विरुद्धमा देशभरबाट गठबन्धनको लहर चलेको र यो गठबन्धन अबको ५ देखि १० बर्षसम्म टिक्ने उनले जिकिर गरे । दुई तिहाइका साथ निर्वाचित एमाले सरकारले जनअपेक्षा अनुरुप काम नगरेकाले अब जनताले त्यसको विकल्प खोजेको उनको भनाइ थियो ।