इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसमा उम्मेद्वार विरुद्ध बागी उठेका गणेश पौडेलले आत्महत्या गरेका छन् ।

आफुले नेपाली कांग्रेस वडा नम्बर ८ बाट अध्यक्षको लागि टिकट पाउनुपर्ने दावी गरिरहेका पौडेल टिकट नपाएपछि प्यानलसहित बागी उम्मेद्वार बनेका थिए ।

पौडेलको शव आफ्नै घरपछाडी शनिवार बिहान भेटिएको थियो । शवको प्रकृति हेरेर प्रहरीले पौडेलले आत्महत्या गरेको बताएको छ ।

३ दिन अघि इनरुवाबाट अपहरणमा परेको भनिएका पौडेल भोली पल्ट बेलुका सम्पर्कमा आएका थिए । मोवाइल घरमै छाडेर हिडेकाले सम्पर्कमा नभएका पौडेलले पछि आफु साथीकोमा बसेको बताएका भएपनि घरपरिवारले भने पौडेल हराएको उजुरी प्रहरीमा गराएको थियो ।

लामो समयदेखि नेपाली कांग्रेसमा आस्था राख्ने पौडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको लागि सिफारिस भएता पनि टिकट भने पाएका थिएनन् ।

यसपाली पनि टिकट नपाएपछि बागी उम्मेद्वार बनेर खडा भएका उनलाई पार्टीबाट समेत उम्मेद्वारी फिर्ता लिन दवाव आएको थियो । पछिल्लो समय नेपाली कांग्रेसले बागी उम्मेद्वार बनेकाहरुलाई कारवाहि गर्ने निर्णय समेत गरेको थियो ।