बराहक्षेत्रः ‘ए, त्यो कांग्रेसको रोहित काफ्ले ?’ती ५० वर्ष नाघेका एक बुद्धिजीवी भनिने व्यक्तिले जुँगा मठार्दै थपे,‘त्यो भाइ मान्छे त ठिकै हो, तर जति राम्रो भएपनि बच्चालाई धुरी चडाउन हुँदैन्, लड्न सक्छ ।’ आसन्न बैशाख ३० मा हुने स्थानीयतह चुनावको लागि बराहक्षेत्र ५ मा अध्यक्ष पदको उमेदवार रोहित काफ्लेप्रति लक्षित यस् वाक्यले समष्टिगत रूपमा एकखाले जमातको प्रतिनिधित्व गर्दछ । यद्यपि आजभोलि काफ्लेलाई प्रायश आउने गरेको रचनात्मक आलोचना हो, यो ।


नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट अध्यक्ष पदका साझा उमेदवार कांग्रेसका नेता काफ्ले उमेरले २९ वर्ष मात्र पुगेका छन् । नेपालको सन्दर्भमा १८ देखि ४० वर्षसम्मको उमेर समूहका व्यक्तिहरुलाई युवायुवती भन्ने गरिन्छ । युवा भन्नू नै अर्को अर्थमा जोश, जाँगर र क्षमताको अनुपम सम्भावना रहेको अबस्था हो । काफ्ले भन्छन्, ‘व्यक्तिले गर्ने कामकार्वाही र उसको व्यबहारबाट उसको युवापन झल्किने गर्दछ, त्यसको मापन मेरा वडाबासीले बैशाख ३० मै गर्नुहोला ।’ 

अघिल्लो स्थानीय सरकारमा नेतृत्व हाकेर गएका बराहक्षेत्रका धेरै स्थानीयबासीले यहाँका पत्रकारलाई समेट्न नसकेको स्थानीय पत्रकारहरुको गुनासो जिबितै छ । सोही तथ्यलाई मध्यनजर गर्दै अध्यक्षका उमेदवार काफ्ले बिहीबारपत्रकार तथा साहित्यकारहरुसँगको अन्तरक्रिया गरेका छन् । बराहक्षेत्र ५ स्थित कालाबञ्जरमा गरिएको उक्त अन्तरक्रियामा बराहक्षेत्र र इटहरीका दर्जन बढी पत्रकारको उपस्थिति रहेको थियो ।

अन्तरक्रियालाई सम्बोधन गर्दै काफ्लेले भने, ‘पत्रकारहरुको रचनात्मक सल्लाह र घच्घच्याउने प्रक्रियाबिना मैले जितेको वडा कार्यालय अघि बढ्नै सक्दैन ।’ पत्रकारहरुसँगै हिड्न चाहाने आफ्नो योजना रहेको बताउँदै उनले थपे,‘हामीले जानीनजानी गर्ने भूलहरुलाई देखाउने र सुधार्ने मौका दिने भनेकै पत्रकारहरु हुन्, तब पत्रकारबिना स्थानीय सरकार अपुरो हुनेछ ।’

फरक प्रसंगमा उनले बराहक्षेत्रका एक पत्रकारले कांग्रेसका उमेदवारद्वारा खसी काटेर खुवाएको अनर्गल कुरालाई आफ्नो सामाजिक सञ्जालमा लेखेको उदृत गर्दै भने, ‘कपोकल्पित कुरालाई राजनीतिक पुर्वाग्रह राखेर त्यस्तो किसिमको पोस्ट गर्ने पत्रकार मित्रलाई मेरो भन्नू केहि छैन्, प्रमाणित हुने सत्य कुरा मात्र लेख्नुभयो भने पत्रकारिताको बदनाम हुनबाट रोकिनेछ ।’

अन्तक्रिर्यामा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी, ग्रामीण पत्रकार समूह बराहक्षेत्रका अध्यक्ष हिरण्य कार्की, बराहक्षेत्र नगरपालिकाका प्रेस सल्लाहकार नवराज बिष्ट लगायतले उमेदवार काफ्लेलाई पत्रकारहरुको समस्या र यसको लागि गर्न सकिने पहलबारे सुझाएका थिए । बराहक्षेत्रमा निवर्तमान हुन लागेका जनप्रतिनिधिले उपेक्षा गरेको यस् क्षेत्रलाई उमेदवार काफ्लेले चुनाव अगाडि नै सम्बोधन गर्नु आफैमा सकारात्मक कदम भएको भन्दै पत्रकारहरुले तारिफ समेत गरेका थिए ।