भोजपुरः जिल्लालाई तराई सँग जोड्ने भोजपुरको दक्षिणी क्षेत्र आमचौक गाउँपालिका विकाश र समृद्धिको सम्भावना रहे पनि त्यसको सदुपयोग र विकाश हुन सकेको छैन् । अघिल्लो स्थानीय निकायको निर्वाचनमा माओवादीले जित निकालेको आमचौक गाउँपालिकाले चाहे जस्तो विकाश गर्न सकेको छैन् । लामो समय पछि जनप्रतिनिधी पाए पनि आमचोकले विगतको ५ वर्ष सम्म माथिल्लो सरकार सँग समन्वय गर्न नसकदा विकाशका कार्यक्रमहरु गर्न सकेन् ।

आमचोकलाई शिक्षा, स्वास्थ्य, रोजगारी प्रवद्र्धन, कृषिको आधुनिकिकरण तथा बजारीकरणका क्षेत्रमा तराई सँग जोड्न दृष्टिकोण राखेको उम्मेदवाका रुपमा आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेले बसन्त राईलाई गाउँपालिकाको अध्यक्षको रुपमा अघि सारेको छ । लामो समय देखि आमचोकलाई नजिकबाट नियालेका राईलाई एमालेले अध्यक्षको रुपमा अघि सारे पछि अहिले आफ्ना प्रतिबद्धता सहित उनी घरदैलोमा छन् ।

पाँच वर्षमा आमचोकलाई तराईका सहरसँग जोड्दै समग्र गाउँपालिकाको विकाशमा छलाङ मार्ने प्रतिबद्धता जनाएका छन् । उनले गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि लगानी वृद्धि गरी शिक्षालाई पहिलो प्राथमिकतामा राखिने प्रतिवद्धता जनाएका छन् । आगामी २ वर्षभित्रमा उज्यालो पालिका घोषणा गरिने प्रतिबद्धता जनाउँदै शिक्षामा आधारभूत र माध्यमिक तहको शिक्षालाई गुणस्तरीय बनाउन पालिका स्तरीय शिक्षाको गुरुयोजना निर्माण गरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृद्धि व्यवस्था, शिक्षक तालिम, प्राविधिक शिक्षा विस्तार, शिक्षक दरवन्दी व्यवस्थापन लगायतको योजनाहरु कार्यान्यवन गर्ने बताएका छन् ।

स्वास्थ्यको क्षेत्रमा पालिका स्तरीय अस्पताल व्यवस्थापन, प्रत्येक वडाका स्वास्थ्य चौकीको पूर्वाधार निर्माण, महिला स्वयंसेविका प्रोत्साहनमा वृद्धि, स्वास्थ्य वीमा तथा एम्बुलेन्स सेवालाई थप विस्तार गरिने उनको लक्ष्य छ । त्यसै गरि केपि ओली नेतृत्वको सरकारको पालामा सुरु भएको फुसको छाना हटाउने कार्यक्रमसँग सहकार्य गरी आगामी ३ वर्षभित्रमा पालिकाभित्र फुसको छाना विस्थापन गरिने उनको प्रतिबद्धता छ ।

यता कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, स्वरोजगार प्रवद्र्धन तथा आयआर्जनसँग जोडिने उनी बताउँछन् । माटो परीक्षण गरी सुहाउँदो नगदे बाली तथा कृषि उपज उत्पादनमा कागजमा आधारितभन्दा प्रमाणमा आधारित अनुदान तथा प्रोत्साहन, प्रत्येक वडामा एक÷एक कृषि र पशु प्राविधिकको व्यवस्था गर्ने, प्रत्येक वडामा कृषि सहकारी, पालिकामा सुरक्षित भण्डारण, प्रशोधन केन्द्रको योजना विकास तथा बजारीकरण प्रवद्र्धन कार्यलाई योजनावद्ध विकास गरिने उनको भनाई छ । चिया, कफी, किवि, कागती, अकबरे खुर्सानी, अदुवा, अम्लिसो, ओखर, जडिबुटिजन्य आदि कृषि उपज उत्पादनको विकास, संस्थागत विकास तथा प्रवद्र्धन, आवश्यकता अनुसार उत्पादन पकेट एरियाको विकास गरिने छ ।

पूर्वाधार विकासमा सडकहरुलाई स्तरोन्तति गरी आमचोक रिङरोडको विकास गर्ने , भएका कच्चि सडकहरुको स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन हुन सक्ने बनाउने र सबै वडा र टोल जोडने सडकहरुलाई हिउँद वर्षा चल्न सक्ने सडकको रुपमा स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । आमचोक महत्वको रानिटार पुल सम्पन्न गर्न सम्बन्धित निकायमा जोडदार पहल गर्ने, प्रदेश सरकारबाट निर्माणधिन चुहार पुलसम्म पुग्ने पहुँच विस्तार गर्ने, आमचोकमा एक बसपार्क निर्माण गर्ने, व्यवस्थित पार्किक, सडक सुरक्षा, ढल विकास आदि कार्यहरु योजनावद्ध रुपमा व्यवस्थित गरिने उनको योजना छ ।

युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिका केन्द्रमा एक व्यवस्थित खेल मैदान तथा रङ्गशाला निर्माण, प्रत्येक वडामा युवा केन्द्रित उद्यम व्यवसाय सञ्चालनको वातावरण निर्माण गरिने, खानेपानी, सिचाई, विद्युतीकरण, सञ्चार, पर्यटन, गरिवी निवारण, आवास, सहकारी, महिला, दलित, आदिवासी जनजाति, अशक्त, ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग, स्थनीय स्रोत साधन परिचालन, स्थानीय न्याय निरुपण जस्ता विषयमा सुशासन सहित काम गरिने उनले प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

साठी वर्ष पुगेका एकल पुरुषलाई समेत अवस्था हेरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने नीति अपनाइने उनी बताउँछन् । संघ र प्रदेश सरकारहरुबाट अघि बढाइएका कार्यक्रमहरु पूरा गरिने छ । जस्तैः प्रधानमन्त्री रोजगार कार्यक्रम निर्वाचन क्षेत्र रणनीतिक सडक, पालिका सदरमुकाम जोड्ने सडक, सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना रहेको उनको प्रतिबद्धता रहेको छ । प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा निर्माण भइरहेका खानेपानी आयोजनालाई निरन्तरता प्रदान गरी उत्तम ढङ्गबाट व्यवस्थापन गर्ने, एक घर एक धाराको सुनिश्चितता गर्ने, सिंचाइका लागि आवश्यक र संभाव्यता अध्ययन गरी लिफ्टिङ खानेपानी योजना निर्माण गर्ने उनको प्रतिबद्धता रहेको छ ।