इटहरीः नेपाली कांग्रेस रामधुनी नगर समिति टोल विकास संस्थाको सहकार्यमा घरघरमा डाक्टरले विशेषज्ञ सेवा दिने लगायतका महत्वकांक्षी घोषणापत्र सार्वजनिक गरेर चुनावमा होमिएको छ ।

स्वच्छ र पारदर्शी प्रशासन रामधुनीमा सुशासन भन्ने नाराका साथ घोषणा पत्र लिएर चुनावी मैदानमा हिडेको नेपाली कांग्रेस रामधुनीले नगरबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन प्रविधिमैत्री टोकन प्रणाली सहित, राजश्वमा न्युनतम शुल्क निर्धारण गर्ने देखि लिएर दक्ष कर्मचारी नगरमैत्री सेवा समेत प्रवाह गर्दै सेवाग्राहिको काम ३० मिनेटभित्रै सम्पन्न गर्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने महत्वकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ ।

नगरिकलाई भुमिकर, मालपोत कर तिर्नको लागि घरबाटै भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयरको प्रबन्ध गर्ने साथै चौमासीक रुपमा सार्वजनिक सुनुवाई गरी नगरले प्रवाह गर्ने सेवा र नागरिकको सन्तुष्टिको स्तरको आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने समेत नेपाली कांग्रेस रामधुनीको संकल्प छ ।

नागरिकका गुनासा सम्बोधनका लागि हरेक शुक्रबार तीन बजेदेखि हेल्लो मेयर कार्यक्रम संचालन गर्ने र विजयी भएको अवस्थामा अर्को कार्यकालय यहि पदमा नदोहोर्याउने प्रतिवद्धता समेत नेपाली कांगे्रसले लिएको छ ।

विपन्न वर्गको न्युनतम पानी तथा विजुलीको महशुल नगरले नै तिरिदिने समेय योजना छ त्यसका साथै नेपाली कांग्रेसले १ किमी भन्दा लामा सबै सडको कालोपत्रे गर्ने देखि लिएर रामधुनी रिङ्गरोड मार्फत सबै वडाका केन्द्रहरु जोड्ने व्यवस्था समेत मिलाउने बताएको छ ।

पुर्वाधार विकासको गुरु योजना बनाई ढल निकास बस्ती विकास तथा सडक र पुर्वाधार निर्माण, मर्मत तथा स्तरउन्नती गर्ने र सडक मानव रहित बनाउने उदेश्य सहित सेफ हाउसको व्यवस्था गर्ने पनि घोषणापत्रमा समावेश गरिएको छ ।

कृषि उत्पादनको न्युनतम समर्थन मुल्य निर्धारण गरी कृषि सहकारी मार्फत बजारीकरणको व्यवस्था मिलाउने , साना किसानहरुलाई मल विरुवाका साथमा प्राविधिक सेवा नियमित र निशुल्क रुपमा उपलव्ध गराउने व्यावस्था मिलाउने साथै पशुविमा, बालीबिमामा प्रिमियम भुत्तानीका लागि अनुदानको व्यवस्था गर्ने र जग्गा जमिनलाई आवास क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्रको रुपमा बर्गिकरण गर्ने र जग्गा प्लटिङ्गलाई निरुत्साहित गर्ने समेत नेपाली कांग्रेसले योजना अघि सारेको छ ।

करेशावारी तथा कौशी खेती सम्बन्धि तालिम, मल, वीउ, प्राविधिक सहायता तथा माटो परिक्षण सेवा निशुल्क रुपमा उपलव्ध गराउने समेत नेपाली कांग्रेस रामधुनीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

सामुहिक पशुपालनलाई प्रोत्साहन गर्न ऐलानी जग्गा उपलव्ध गराउनुका साथै, माछा, मासु, दुध र दुग्ध जन्य पदार्थमा नगरलाई आत्मनिर्भर बनाउने समेत कांग्रेसले घोषणा गरेको छ ।

पर्यटनको विकासका लागि थारु संस्कृतिको पहिचान उत्थान र विकासका लागि थारु संग्राहालयको स्तरोन्नती र विकास गर्ने नगरभित्रका तालतलैया, थान, मठमन्दिर को संरक्षण गरी पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना समेत कांग्रेसले अघि सारेको छ ।

उद्योग धन्दामा आकर्षित गर्न २५ जना भन्दा बढीलाई रोजगार दिने उद्योगलाई ५ बर्षसम्म कर छुट दिने साथै औद्योगिक र व्यवसायिक सुरक्षाको लागि व्यवस्था मिलाउने र हाट बजारलाई व्यवस्थित गर्न पायक पर्ने जग्गा खोजी दिगो पुर्वाधार सहितको बजार विकास गर्ने र व्यापार व्यवसाय प्रवद्र्धनका लागि वित्तिय संघ संस्थाहरुसँगको सहकार्यमा सहुलियतपुर्ण कर्जा कार्यक्रम सन्चालनमा ल्याउने र विपन्न वर्गका व्यपारिका लागि विना धितो कर्जा प्रवाहमा नगरपालिकाको जमानत प्रदान गर्न सक्ने व्यवस्था मिलाउने समेत कांग्रेसको घोषणापत्रले भनेको छ ।

बेरोजगारलाई लक्षित गर्दै व्यवसायिक सीपमुलक तालिम संचालन गर्ने र तालिम प्राप्त महिला, दलित अल्पसंख्यकले आफ्नै व्यवसाय गर्न चाहेमा विनाधितो ऋण प्रवाहको समेत व्यवस्था गर्ने घोषणा रामधुनी कांग्रेसको छ ।

शिक्षाक्षेत्रको विकासका लागि प्रविधीमा आधारित शिक्षा प्रणालीको विकास गर्ने साथै पुर्व प्राथमिक तहका सबै विद्यालयलाई मन्टेश्वरी प्रविधीमा आधारित बनाउने र सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नियमित अनुगमनको भरपर्दो व्यवस्था समेत गर्ने योजना अघि सारेको कांग्रेसले नगरका सम्पुर्ण सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्तरोन्नती गर्ने समेत योजना अघि सारेको छ ।

स्वास्थ्य नगर कार्यक्रम अन्तर्गत घनावस्ती भएका क्षेत्रहरुको पहिचान गरी खुल्ला व्ययामशाला स्थापना गर्ने देखि लिएर ६५ बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिको स्वास्थ्य विमाको प्रिमियम नगरलै नै भुत्तानी गरिदिने सम्मको योजना कांग्रेसको छ ।

अघिल्लाको कार्यकालमा पनि मेयर तर्फ जित हासिल गरेको नेपाली कांग्रेसले यस पाला मेयर पदका लागि युवा नेता सुदिप अधिकारी र उपमेयर तर्फ आशाकुमारी चौधरीलाइ उम्मेद्वार बनाएको छ ।